भुवन केसीले किन गरेनन् सरोज खनालको ‘बगान’ ?

जनपत्र
२४ जेष्ठ २०७९, मंगलवार ०८:०२

भुवन केसी र सरोज खनाल समकालीन कलाकार हुन् । सरोजभन्दा अगाडि भुवनले फिल्ममा प्रवेश गरेको भएपनि करिअरको उचाईंमा रहँदा उनीहरुले ‘विजय पराजय’, ‘परिभाषा’ लगायतका फिल्ममा एकसाथ काम गरेका थिए । उनीहरुबीच वास्तविक जीवनमा सुमधुर सम्बन्ध स्थापित छ । भुवन केसीलाई देखेपछि आफूलाई हिरो बन्ने रहर पलाएको सरोज खनाल बताउने गर्छन् ।

अभिनयमा बटुलेको अनुभवको आधारमा भुवनले फिल्म ‘ड्रिम्स’बाट निर्देशनमा डेब्यू गरे । अब सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशकीय यात्रा थालेका छन् । फिल्ममा उनी आफैंले पनि अभिनय गरेका छन् । तर, उनले आफूले निर्वाह गरेको रोल पहिला भुवन केसीलाई अफर गरेका थिए । तर, भुवनले छोटो रोलमा काम गर्न इच्छा नदेखाएपछि खनाल आफैंले अभिनय गरेका हुन् ।
आइतवार फिल्मको घोषणा सभा र गीत सार्वजनिक कार्यक्रममा निर्देशक खनालले भने( ‘फिल्ममा मैले एउटा क्यारेक्टर गरेको छु, जुन म गर्न चाहन्न थिएँ । मैले भुवन केसी दाईलाई त्यो क्यारेक्टरको अफर गरेको थिएँ । मलाई अलि बुढो खालको हिरो चाहिएको थियो । तर, भुवन दाईले ममाथि विश्वास गर्नुभएन कि क्या हो दुईटा मात्र सिन के गर्नु भन्नु भएपछि म आफैंले अभिनय गरेको हुँ ।’

फिल्म हेरेपछि भुवन केसीलाई दुईटा सिनको क्यारेक्टर नगरेकोमा पछुतो हुने खनालको दाबी छ । उनले फिल्ममा एउटा सिन र एउटा गीत मात्र भएपनि अभिनेता आकाश श्रेष्ठ काम गर्न तयार भएकोमा खुशी व्यक्त गरे । फिल्ममा नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, प्रमिला कार्कीको पनि अभिनय छ । फिल्मको निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता करिश्मा मानन्धर हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*