‘अभिन्न’को ‘मान्छे’ गीतमा कार्मको जीवन्त अभिनय

जनपत्र
१९ जेष्ठ २०७९, बिहीबार ०७:२९

लभस्टोरी फिल्ममा रुचाइएका अभिनेता कार्म पछिल्लो समय फरक शैलीका फिल्ममा प्रस्तुत हुँदै आएका छन् । चाहे ‘कठपुतली’ होस् वा ‘षष्टकोण’, उनको फिल्म र पात्र छनोट गर्ने शैली बदलिएको स्पष्ट देखिन्छ । घिसिपिटी लभस्टोरी फिल्मबाट अघाएका उनी चुनौतीपूर्ण चरित्रमा आफूलाई परिक्षण गरिरहेका छन् । यो कार्मले आफ्नो फिल्मी करिअरमाथि मोलेको ठूलो जोखिम पनि हो ।

अभिनयमा अब्बल मानिने कार्म एकपटक फेरि भिन्न चरित्रमा प्रस्तुत भएका छन्, फिल्म ‘अभिन्न’मा । मंगलवार सार्वजनिक भएको फिल्ममा समावेश ‘मान्छे’ बोलको गीतमा उनको सशक्त चरित्र देखिन्छ भने अभिनय लोभलाग्दो छ । अपाङ्गको भूमिकामा उनले जीवन्त अभिनय गरेका छन् । कुकुरलाई च्यापेर बाटोमा माग्दै हिँड्ने एक अपाङ्गको कारुणीक कथालाई गीतमा देखाइएको छ ।
रञ्जित गजमेरले संगीत भरेको गीतमा राजीव सुनारको स्वर छ । निर्देशक समेत रहेका प्रशान्त रसाइलीले गीतको शब्द लेखेका हुन् । यसअघि ‘आचार्य’, ‘सोल सिस्टर’, कथा’ फिल्मको निर्देशन गरिसकेका उनले ‘अभिन्न’को छायांकन लकडाउनअघि सकिएको र यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको बताएका छन् । निर्माण टिमले गीत सार्वजनिक गरेपनि प्रदर्शन मिति तोकेको छैन ।
विदेशमा हुने फेस्टिभलमा पठाउने तयारी गरिएको फिल्मलाई विभाकर सुन्दर शाक्यले निर्माण गरेका हुन् । लैनसिंह बाङ्देलद्वारा लिखित चर्चित उपन्यास ‘लङ्गडाको साथी’माथि आधारित भएर फिल्म निर्माण भएको हो । उपन्यासमा दार्जलिङ्ग शहरको बजारमा डुली हिँड्ने एक अपाङ्ग व्यक्तिले भोग्नु परेको कारूणीक कहानी र उसलाई सहयोग गर्ने एउटा कुकुरको चरित्र उतारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*