सुनको मूल्यले बनायो रेकर्ड, इतिहासकै सबैभन्दा बढी

बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा कारोेबार भएको छापावाल सुनको मूल्य एकै दिन एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बिहीबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च भएको बताए । मूल्य आकाशिएपछि बजारमा सुन किन्ने ग्राहकको संख्या अत्यन्तै न्युन भएको छ भने बेच्ने ग्राहकको संख्या बढेको छ ।
सरकारले बजेटमा सुनको भन्सार प्रतितोला एक हजार रुपैयाँले बढाउने निर्णय गरेपछि प्रतितोला ५९ हजार रहेको सुनको मूल्य ६० हजार पुगेको थियो । तर यो नेपालको आन्तरिक कारण भन्दा इरान र अमेरिकाबीच बढ्दो तनाव, अमेरिका–चीन व्यापार युद्धलगायतका कारणले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आकाशिएको हो ।
यसअघि नेपालमा २०७० साल भदौ १२ गते सुनको प्रतितोला मूल्य सबैभन्दा धेरै ६३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।