कस्तो छ प्रदीप खड्काको ‘प्रकाश’ टिजर ?

जनपत्र
१८ जेष्ठ २०७९, बुधबार ०७:०३

लभस्टोरी फिल्ममा जमेका अभिनेता हुन्, प्रदीप खड्का । उनको लुक्सले लभर ब्वाईंको भूमिका बढी म्याच गर्छ । दर्शकहरुले पनि उनलाई रोमान्टिक अवतारमा नै रुचाउने गरेका छन् । तर, प्रदीप भने आफूलाई एकैखाले भूमिकामा सीमित राख्न चाहँदैनन् । ‘रोज’मा आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएका उनलाई अब फिल्म ‘प्रकाश’मा अहिलेसम्मकै फरक चरित्रमा देख्न पाइनेछ ।

मंगलवार सार्वजनिक भएको फिल्मको टिजरमा प्रदीप जुम्लाको अति विपन्न युवकको भूमिकामा प्रस्तुत छन् । पिताको पखाईमा रहेको छोरा र उसको गाउँको स्कूलमा शिक्षक बन्ने सपनालाई टिजरमा देखिएको छ । प्रदीपको मनछुने अभिनय, भिन्न लुक्स र जुम्लाको खस भाषामा बोलेको संवादले टिजर उत्कृष्ट बनेको छ । ‘प्रकाश’ले प्रदीपको लभर ब्वाईको छवि मेट्न सक्ने देखिन्छ ।

टिजरलाई बलियो बनाएको अर्को पाटो अभिनेत्री दीया मास्केको लुक्स पनि हो । जुम्लाको मौलिक पहिरनमा प्रस्तुत भएकी उनी टिजरमा निराश र गम्भीर मुद्रामा देखिएकी छन् । फिल्ममा उनी प्रदीपकी आमाको भूमिकामा रहेको टिजरबाट प्रस्ट्याइएको छ । ‘प्रसाद’बाट वाहवाही कमाएका निर्देशक दिनेश राउतले एकपटक फेरि समाजभित्रको गहन मुद्धालाई उठाउने आँट गरेका छन् ।

भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखकलगायतको पनि अभिनय छ । फिल्ममा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*