कास्कीमा भत्किंदै एमाले दबदबा

जनपत्र
२ जेष्ठ २०७९, सोमबार ०६:५९

पोखरा । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, कास्कीमा अन्नपूर्ण गाउँपालिका मात्र  खुम्चिएको थियो । पोखरा महानगरपालिकामा करिब १४ हजार मतान्तरले विजय भएको नेकपा एमालेले कास्कीमा बहुमत वडाहरुसहित ४ स्थानीय तहका दबदबा जमाएको थियो । स्थानीय तहमा ५ वर्ष शासन चलाएको एमालेले बिरासत गुमाउने संकेत गरेको छ ।

यसअघिको कांग्रेस जस्तै कास्कीमा एमाले एउटा पालिकामा खुम्चिन सक्ने मत परिणामले देखाइरहेको छ ।

अघिल्लो निर्वाचनमा एक हजारभन्दा धेरै मतान्तरले ८ वडा वडासहित चुनाव जितेको कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अहिले नेपाली कांग्रेसले एमालेको दबदबा भत्काएको छ । अघिल्लो निर्वाचनमा वडा नम्बर १ मा मात्र चुनाव जितेको नेपाली कांग्रेसले यसपटक ७ वटा वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ भने एमाले एउटा वडामा खुम्चिएको छ ।

कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङले ७ हजार ९९ मत ल्याउँदै जीत हाँसिल गरेका छन् । यसअघि वडा नम्बर २ का अध्यक्ष रहेका बिक्रम गुरुङ एमालेबाट अध्यक्ष पदका उम्मेदवार थिए । विक्रमले ६ हजार ६१७ मत ल्याउँदा मीनबहादुरले ४८२ मतान्तरले विजयी भए । उपाध्यक्षमा नेपाली कांग्रेसकै सीता अधिकारीले ६ हजार ३७६ मत ल्याएर विजयी भइन् । एमालेबाट उपाध्यक्षको उम्मेदवार सीता तिवारीले ५ हजार ९५१ मात्र मत ल्याउन सफल भइन् ।

एमाले वडा नम्बर ६ मा मात्र जीत निकाल्न सफल भयो । टेकनाथ गौतमले वडा नम्बर ६ मा जीत निकाले । अघिल्लो स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा निल रहेको नेकपा माओवादी केन्द्रले अहिले माछापुच्छ्रेको वडा नम्बर ७ मा जित निकाल्दै खाता खोल्यो । योबाहेक माछापुच्छ्रेको नेतृत्वसहित७ वडामा जितेर कास्कीमा कांग्रेसले विजय सुरुआत गरेको छ ।

माछापुच्छ्रेमा सत्तारुढ पाँचदलको गठबन्धन पनि थिएन । माओवादीले उपाध्यक्षमा मात्र उम्मेदवारी दिएको थियो भने ८ नम्बर वडामा त एमालेसँग तालमेल गरेको थियो ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष जितेका मीनबहादुर व्यवसायी हुन् । उनी यसअघि कांग्रेस क्षेत्र नम्बर ३ का सभापति थिए भने अहिले माछापुच्छ्रे गाउँपालिका समितिका उपसभापति हुन् । विद्यार्थी राजनीतिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भएकी सीता माछापुच्छ्रेको उपाध्यक्ष जितेकी छन् ।

माछापुच्छ्रेमात्रै होइन, कास्कीमा एमालेको बलियो मानिएकै पालिका पनि गुमाउने जोखिम छ ।

एमालेको बलियो मानिएको मादी गाउँपालिका पनि यसपटक कांग्रेसले जित्ने मत परिणामले पक्काजस्तै देखिएको छ । एमालेले जितेको वडा नम्बर १ र २ मा यसअघि हारेका कांग्रेसका उम्मेदवारले यसपटक जीत हासिल गरेका छन् ।

एमाले कास्की अध्यक्ष तथा सांसद मनबहादुर गुरुङकै वडा मादी-१ मा एमाले बिरासत भत्काउँदै कांग्रेसका देवीजंग गुरुङले १६५ मतान्तरले चुनाव जिते । एमालेबाटै गाउँपालिका अध्यक्ष रहेका वेदबहादुर गुरुङकै वडा मादी-२ मा पनि कांग्रेसका भोजबहादुर गुरुङले जित हासिल गरे । दुबै जना यसअघि एमालेबाटै पराजित भएका थिए ।

मादीको वडा नम्बर ३ मा पनि विकास गुरुङले जित निकाल्दै कांग्रेसको वडालाई सुरक्षित राखेका छन् ।

वडा नम्बर ४ मा भने शिव सापकाटाले चुनाव जितेर एमालेको जितलाई कायमै राख्न सफल भए । अन्य वडाको मत गणना भइरहेको छ । वडा नम्बर ५ मा कांग्रेसका होमनाथ अधिकारीले चुनाव जितेका छन् । मादी गाउँपालिकामा यसअघि अध्यक्षमै पराजित भएका देवीजंग गुरुङले अग्रता कायमै राख्दै आएका छन् । युवा संघका गण्डकी अध्यक्षसमेत रहेका व्यवसायी शिवबहादुर गुरुङ -महेन्द्र) लाई एमालेले बलियो उम्मेदवारका रुपमा उभ्याए पनि कांग्रेसका देवीजंग ५ सयभन्दा बढी मतले अगाडि छन् ।

कास्कीको सबभन्दा सानो गाउँपालिका रुपामा भने यसपटक पनि एमालेले नै जीत निकाल्ने सम्भावना छ । एमालेबाट फेरि अध्यक्षमै उम्मेदवारी दिएका नवराज ओझाले कांग्रेस उम्मेदवार गीमाया गुरुङलाई करिब १ हजार मतान्तरले पछि पारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*