‘हनी बनी’मा भित्रिए भारतीय मोडल अभिमन्यु

‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको लभस्टोरी फिल्म ‘हनी बनी’मा भारतीय मोडल अभिमन्यु तोमर लिड नायकमा अनुबन्ध भएका छन् । अभिनेता अनमोल केसीले अन्तिम समयमा फिल्मबाट हात झिकेपछि नायकको खोजीमा रहेको निर्माण टिमले अभिमन्युलाई छनोट गरेको हो । फिल्ममा उनले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।
भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । २७ वर्षका उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन् । अध्ययन, घुमफिर र पौडीका सौखिन उनले बलिउड फिल्ममा भने ब्रेक पाइसकेका छैन । ‘हनी बनी’ नै उनको पहिलो फिचर फिल्म हुनेछ ।
दीवाकरले यसअघि पनि आफ्नो फिल्म ‘तिमीसँगै हुन मन छ’मा भारतीय मोडल रोहित सुचान्तीलाई अनुबन्ध गरेका थिए । गत वर्ष छायांकनका लागि भारतबाट रोहितसहितको टिम नेपाल आएको थियो । तर, कोरोना महामारी फैलिएपछि फिल्मको छायांकन सुरु हुन सकेन । दीवाकरले कथाअनुसार चरित्रमा सुहाउने भएकाले अभिमन्युलाई ‘हनी बनी’मा अनुबन्ध गरेको जानकारी दिए ।
बेलायतमा छायांकन हुने यो फिल्ममा पहिला अभिनेत्री सारा सिरपालीले पनि अभिनय गर्ने पक्का थियो । तर, उनको बेलायतको भिसा नझरेपछि बेलायतमै रहेकी जसितालाई निर्माण टिमले अनुबन्ध गरेको हो । अभिमन्युको बेलायतको भिसा लागिसकेको र उनी केही दिनमा छायांकनका लागि आउने निर्देशक भट्टराईले जानकारी दिए । फिल्ममा सलोन बस्नेतको पनि अभिनय रहनेछ
एबी इन्टरनेशलको प्रस्तुती रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस्ले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् । फिल्मको लागत ७ करोड अनुमान गरिएको छ । बेलायतमा दर्ता रहेको एबी इन्टरनेशलले यसअघि ‘पासवर्ड’, ‘सम्हालिन्छ कहिले मन’ जस्ता फिल्म निर्माण गरिसकेको छ ।