‘कृष्ण लीला’सँग ‘माइकल अधिकारी’ भिड्ने पक्का
कोरोना महामारीका कारण दुई वर्ष कयौं नेपाली फिल्म रिलिज हुन पाएनन् । कति फिल्मले प्रचारमा लाखौं खर्च गरेर प्रदर्शनको मुखमा कोरोनाका कारण रिलिज रोकेका थिए । विस्तारै संक्रमण सामान्य भएर हलहरु पुरानै अवस्थामा फर्किएसँगै नेपाली फिल्महरु धमाधम रिलिज हुन थालेका छन् । साथै, एकै मितिमा एकभन्दा बढी फिल्म भिड्ने शिलशिला पनि सुरु भएको छ ।
यही शुक्रवार दुई नेपाली फिल्म ‘षट्कोण’ र ‘लक्का जवान’ एकसाथ रिलिज भए । आउँदो भदौ ३ गते पनि दुई नेपाली फिल्म भिड्ने निश्चित भएको छ । दीपक ओली निर्देशित फिल्म ‘कृष्ण लीला’ले कृष्ण अष्टमीलाई लक्षित गर्दै सबैभन्दा पहिला उक्त मिति लक गरेको थियो । अब यो मितिमा रञ्जित रौनियारको निर्देशनमा बनेको फिल्म ‘माइकल अधिकारी’ पनि प्रदर्शन हुने भएको छ ।
यो फिल्मलाई यसअघि २०७६ सालको चैत २८ गते प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, कोरोना महामारीका कारण अन्तिम समयमा रिलिज स्थगन भयो । वितरक करण श्रेष्ठले भदौ ३ मा ‘माइकल अधिकारी’ रिलिज हुने पक्का भएको जानकारी दिए । फिल्मलाई काठमाडौंभित्र करणको कम्पनी जिजिए ग्रुप र मोफसलमा श्रीकृष्ण फिल्मस् र पाथिभरा फिल्मस्ले वितरण गर्नेछन् ।
‘कृष्ण लीला’मा अभिनेता पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । लभस्टोरी कथामा निर्माण भएको यो फिल्मको ‘कुनै दिन त्यो कथामा’ बोलको गीत हिट भइसकेको छ । ‘माइकल अधिकारी’मा भने रियल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् । भाडाको कोख सम्बन्धि विषय उठान गरिएको फिल्मलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो ।