भारतलाई बिजुली बेच्न संरचना सुधार्दै कुलमान घिसिङ: ढल्केबर सबस्टेशन पुसभित्र सकिने

जनपत्र
२ असार २०७६, सोमबार ०६:१८

नेपाल भारत विद्युत व्यापार र देशको प्रसारण प्रणालीलाई सुधार गर्ने उदेश्यका साथ निर्माण भैरहेको ४ सय केभी सब-स्टेशन आउँदो पुसभित्र सम्पन्न हुने भएको छ ।

स्वदेशी लगानीमा निर्माणाधीन ४००-२२० केभीको ढल्केबर सबस्टेशन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेशन हो । सरकारले बजेटमार्फत आउँदाे आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।

४००-२२० केभीको सबस्टेशन सञ्चालनमा आएपछि नेपाल र भारतबीच नौ सय मेगावाट विद्युत आयात–निर्यातका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

‘ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन यस अघि नै निर्माण सम्पन्न भएर अहिले २२० केभीमा सञ्चालनमा छ, ढल्केबरमा ४००-२२० केभी सबस्टेशनको निर्माण सकिएपछि ठूलो क्षमताका प्रसारण लाइनमार्फत दुई देशबीच विद्युत् आदानप्रदान गर्न सकिनेछ, यसबाट अन्तरदेशीय विद्युत् व्यापार थप सहज बन्नेछ’, घिसिङले भन्नुभयो, ‘४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा  विद्युत बढी हुन गएको खण्डमा भारत निर्यात गर्नका साथै दुई देशबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्नेछ ।’

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरी भारतबाट पिक समयमा दैनिक २२० मेगावाटसम्म विद्युत आयात भइरहेको छ । अन्य विन्दुको तुलनामा मुजफ्फपुरबाट आयात हुने विद्युतकाे मूल्य सस्तो छ । ढल्केबरमा २२०-१३२ केभी सबस्टेशन पनि सञ्चालित छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले शनिबार सबस्टेशन निर्माण प्रगतिको स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सम्पन्न निर्देशन दिनुभएकाे छ । घिसिङले यो सबस्टेशन सरकारको उच्च प्राथमिकताको आयोजना भएकाले कुनै पनि बहानामा निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

सबस्टेशन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एबीबीले ठेक्का सम्झौतामा निर्धारित समय अर्थात ३१ डिसेम्बर २०१९ भित्र सबस्टेशनकाे काम सकेर चार्ज गर्ने प्रतिबद्धता जनाएको छ । सबस्टेशनको इन्जिनियरिङको ९५ प्रतिशत, उपकरणको उत्पादन तथा आपूर्तिको ६० प्रतिशत र जडान तथा सिभिल कार्यको प्रगति ४० प्रतिशत छ ।

प्राधिकरण र कम्पनीबीच सबस्टेशन निर्माणका लागि ८ डिसेम्बर २०१७मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवामा पनि ४००-२२० केभीको सबस्टेशन निर्माण गरिरहेको छ । उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरण गरिएको हो ।

उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*