साउन २० मा ‘आँधी तुफान २’, पोस्टरमा तीन हिरोइनको एक्सन अवतार

जनपत्र
१६ बैशाख २०७९, शुक्रबार ०७:२९

२०६३ सालको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेल आगामी साउन २० गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीवार निर्माण टिमले तीनवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मका तीन अभिनेत्रीहरु आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत छन । फिल्मको मूल कथा नै उनीहरुमाथि केन्द्रित रहेको पोस्टरले बुझाउँछ ।

सस्पेन्स थ्रिलर जनरामा निर्मित फिल्मले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिए । फिल्मलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा रवी गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकीलगायतको अभिनय छ ।

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा मौनता श्रेष्ठको कथासँगै पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

आरआर फिल्मस्ले वितरण गर्ने ‘आँधी तुफान २’मा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पाश्र्व संगीत, मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन् । महेन्द्र बुढाथोकीले निर्देशन गरेको यो फिल्मको पहिलो श्रृंखलामा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा प्रस्तुत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*