अल्मोडाको स्वरमा ‘मन्त्र’को गीत
यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन्त्र’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक ‘तिम्रै हुँ भन्छ यो मनले’ गीतमा गायक अल्मोडा राना उप्रेती र गायिका अप्सरा घिमिरेले स्वर दिएका छन् भने सन्तोष सुनारको शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सौगात मल्ल र मुख्य अभिनेत्री दीया पुनबीचको प्रेमलाई देखाइएको छ ।
गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । यसअघि ‘टिस्टा पारीको साइनो’ फिल्मबाट निर्देशनमा राम्रो सम्भावना देखाएका गुरुङ ‘मन्त्र’लाई अर्गानिक फिल्म भन्न रुचाउँछन् । प्रेमकथामा फरक स्वाद खोजिरहेका नेपाली दर्शकलाई फिल्मले रिझाउन सफल हुनेमा उनी विश्वस्त देखिएका छन् ।
डिभाइन इन्टरटेन्टमेन्ट र डिएस प्रोडक्सनले सहकार्य गरेको फिल्म गोरखाको मनास्लु क्षेत्रमा खिचिएको हो । हिमाली प्रेमकथा भनिएको फिल्ममा सौगात र दीयासँगै बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालागयतका कलाकारहरुको पनि अभिनय छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ निर्मातामा छन् ।
फिल्ममा सह(निर्माताको रुपमा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन् । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्मको काठमाडौं बाहिर एफडि कम्पनी र उपत्यकामा काफिया फिल्म्सले वितरणको जिम्मा लिएका छन् ।







