टिभी स्क्रिनमा पल शाहलाई चुम्बन गर्दै पूजाले दर्शाइन् प्रेम
फिल्म चलाउन के हत्कण्डा अपनाउनु पर्छ भन्ने पाठ सिक्न अभिनेत्री पूजा शर्मा विश्वविद्यालय हुन सक्छिन् । बाहिरी ब्यानरको फिल्म भए उनी शान्त देखिन्छिन् । तर, फिल्ममा आफ्नो पैसा परेको छ भने उनी रुवाबासीमा समेत उत्रन्छिन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ यसको तात्तातो उदाहरण हो । यो फिल्म जे जति चल्यो त्यसमा पूजाले अपनाएको हत्कण्डालाई प्रमुख मानिन्छ ।
फिल्म रिलिजको मुखमा हुँदा मुख्य नायक पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा जाहेरी परेको थियो । त्यसपछि पल फरार भए । उनी फिल्मको प्रिमियरमा पनि उपस्थित भएनन् । यो घटनाले फिल्मलाई असर पर्ने देखेपछि पूजाले प्रियिमरमै ‘अब इन्डस्ट्री नै छाड्छु’ भन्दै आँशु बगाइन् । जब फिल्म रिलिज भयो उनी पलको तस्विर अंकित टिसर्ट लगाएर हल(हलमा पुगिन् ।
उनले पलबिना आफू अधुरो र आफूबिना पल अधुरो रहेको भन्दै पल आएपछि उनलाई नै लिएर फिल्म बनाउने बाचा समेत गरिन् । पूजा हल पुग्दा पलका फ्यानहरु उनलाई अंगालो हाल्दै रुन्थे । उनी पनि पल छिट्टै आउने भन्दै आश्वासन बाँड्थिन् । पलको नाम भजाएर फिल्म चल्छ भन्ने माहोल बुझेपछि पूजाले पललाई निर्दोष देखाउने नाममा नाबालिगको चरित्रमाथि प्रश्न समेत उठाइन् ।
यतिबेला फिल्म हलहरुबाट उत्रिसकेको छ । फिल्मले घरेलु बजारबाट राम्रो कमाई गर्यो । फिल्म हिट भएपछि पूजाले पलको नाम भजाउन छाडेकी छन् । अब उनलाई यो आवश्यक पनि छैन । बरु, फिल्म रिलिज भइरहेकै समयमा उनले युद्ध बानियाँसँगको प्रेम सार्वजनिक गरेर आफूलाई चर्चाभन्दा बाहिर राख्न दिएकी छैनन् । सम्भवतः आउँदो वर्ष उनले युद्धसँग लगनगाँठो कस्न सक्नेछिन् ।
फिल्म हलबाट उत्रिसकेपछि पलप्रति पूजाको प्रेम पनि उत्रिने धेरैको टिप्पणी थियो । तर, शुक्रवार उनले पलसँग अभिनय गरेका म्यूजिक भिडियोहरु घरको टिभी स्क्रिनमा हेर्दै इन्स्टाग्राम स्टोरीमा ‘मिसिङ यू’ भनेर लेखेकी छन् । त्यस्तै, ‘म यस्तो गीत गाउँछु २’मा पलले ‘यहाँ ईश्वरलाई पनि’ गीत गाइरहेको दृश्यमा पूजाले स्क्रिनमै पललाई चुम्बन गर्दै ‘आइ जस्ट लभ हिम’ भनेकी छन् ।
फिल्म रिलिजपछि पनि पूजाले पलप्रति दर्शाएको यो प्रेमले पलका फ्यानहरुलाई भावुक बनाएको छ । पल र पूजाले पहिलो पटक फिल्म ‘म यस्तो गीत गाउँछु’मा सहकार्य गरेका थिए । पल यतिबेला तनहुँ कारागारमा छन् । एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ र नवलपरासी जिल्ला अदालतले शाहलाई थुनामै बसेर कानुनी लडाइँ लड्न आदेश दिएको छ । फिल्मीखबरबाट







