२५ करोडमा बनेको ‘द कश्मीर फाइल्स’ले छाप्यो २ सय करोड

जनपत्र
११ चैत्र २०७८, शुक्रबार ०६:५६

फिल्म स्टारकास्टले चल्छ भन्ने मान्यताको पर्खाल भत्काएको बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले बक्सअफिसमा ऐतिहासिक कमाई गरेको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाख कमाएको फिल्मले दुई हप्ता पनि पूरा नगर्दै २ सय करोड छापेको छ । बलियो ‘वर्ड अफ माउथ’ले दोस्रो दिनबाट कमाईमा उछाल कायम गरेको फिल्मले पहिलो हप्तामै सय करोड कमाएको थियो ।

दोस्रो हप्ताको शुक्रवार १९ करोड १५ लाख, शनिवार २४ करोड ८० लाख, आइतवार २९ करोड २० लाख, सोमवार १२ करोड ४० लाख, मंगलवार १० करोड २५ लाख र बुधवार १० करोड ३ लाखको व्यापार गर्दै फिल्मले १२औं दिनमा २ सय करोडको आँकडा छोएको हो । ‘सूर्यवंशी’को लाइफटाइम कलेक्सनलाई समेत पछि पार्दै ‘द कश्मीर फाइल्स’ सर्वाधिक कमाउने फिल्म बनेको छ ।

२५ करोडमा निर्माण भएको फिल्मले ६ सय स्क्रिनबाट प्रदर्शन थालनी गरेको थियो । बलियो माउथ पब्लिसिटीले फिल्मको कमाई आक्रामक हुन थालेपछि पहिलो हप्तामा नै ४ हजार स्क्रिन थपिएको थियो । विवेक अग्निहोत्रीको निर्देशनमा तयार भएको फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णी लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा कश्मीर पीडितको त्यसबेलाको कथा प्रस्तुत गरिएको छ, जब ९० को दशकमा उनीहरुलाई आफ्नै राज्यबाट निकालिएको थियो । फिल्म अनुपम खेरले आफ्नो काँधमा बोकेका छन् । उनको जीवन्त अभिनयले फिल्मलाई जीवन दिएको छ । हिन्दी भाषामा सफल भएपछि ‘द कश्मीर फाइल्स’लाई अब तमिल, तेलुगू, कन्नड़, मलयालममा डब गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*