गौरवका आयोजनाको ‘लाइभ फुटेज’ प्रधानमन्त्रीको मोबाइलमै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘एक्सन रुम’ नाम दिएर हालै एउटा आधुनिक प्रविधियुक्त कक्ष बनाइएको छ । प्रधानमन्त्री केपी शार्म ओलीले प्रदेशका मुख्यमन्त्रीहरुसँग यस कक्षबाट ‘लाइभ’ कुराकानी गर्न सक्छन् । जेठ १५ गतेबाट सञ्चालनमा आएको एक्सन रुममा तीन वटा ठूला मनिटर जडान गरिएको छ । उता मुख्यमन्त्रीहरुको कार्यलयमा ‘टेलिप्रिजेन्स सिस्टम’ जडान गरिएको छ । टेलिप्रिजेन्स भनेको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ हो । इन्टरनेटका माध्यमबाट यसमा सदृष्य कुराकानी हुन्छ । मुख्यमन्त्रीहरुसँग निकट सम्पर्कमा रहेर प्रदेशहरुलाई दिशानिर्देश गर्न प्रधानमन्त्रीका लागि यो एक्सन रुम निकै फलदायी हुने विश्वास प्रधानमन्त्री कार्यालयका अधिकारीहरुको छ । तर, यो कक्ष यही एउटा मात्रै प्रयोजनका लागि मात्रै बनेको हैन । राष्ट्रिय गौरवका आयोजनाहरुको लाइभ मनिटरिङ (प्रत्यक्ष निगरानी) प्रणालीलाई पनि यसमै जोडिँदैछ । आफ्नै सर्भर राखेर तयार गरिएको यो कक्षलाई प्रधानमन्त्रीले मुख्य आयोजनाको भौतिक प्रगति हेर्न र परेका समस्या सल्टाउन पनि उपयोग गर्दैछन् ।