‘म यस्तो गीत गाउँछु २’ ले भित्रायो प्रचारमा नयाँ ट्रेन्ड

जनपत्र
६ फाल्गुन २०७८, शुक्रबार ०९:२२

यही फागुन १३ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको आशातित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को टिमले प्रचारमा नयाँ शैली अपनाएको छ । प्रायः निर्माता तथा निर्देशकहरुले फिल्मको गीत, ट्रेलर वा टिजरलाई मात्र प्रचारको अस्त्र बनाइरहेको अवस्थामा निर्देशक सुदर्शन थापाले भने थारु र नेपाल भाषामा प्रमोशनल गीत बनाएर प्रचारमा नयाँ ट्रेन्डको सुरुवात गरेका छन् ।
बुधवार थारु भाषाको प्रमोशनल गीत सार्वजनिक गरेपछि निर्माण टिमले बिहीवार नेपाल (नेवारी) भाषाको प्रमोशनल गीत रिलिज गरेको छ । आश्रय रञ्जित र कल्पना श्रेष्ठको स्वर रहेको गीतमा नरेश योगीको शब्द रचना तथा संगीत छ । प्रमोशनल गीतको भिडियोमा नेपाल भाषाका कलाकारहरुसँगै फिल्मका लिड नायक पल शाह र नायिका पूजा शर्मा नेवारी पहिरनमा प्रस्तुत छन् ।
यो फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।
‘म यस्तो गीत गाउँछु’ आफैंमा ब्रान्ड बनिसकेकाले हलसम्म दर्शक ओइरिने धेरैको अपेक्षा छ । त्यस्तै, पल र पूजाको स्टारडमको फाइदा पनि फिल्मले उठाउन सक्ने विश्लेषण कतिपयको छ । लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिने सुदर्शन थापामाथि पनि दर्शकले विश्वास गर्ने भएकाले फिल्मले सुस्ताएको नेपाली फिल्मको बजार तताउने देखिन्छ । फिल्मका गीतहरु पनि बलिया छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*