हिरोइनसँग दोहोर्‍याएर काम नगर्ने मेरो प्लान होइन : अनमोल केसी

जनपत्र
३ फाल्गुन २०७८, मंगलवार ०८:३५

कुनै समय राजेश हमालको टाउको पोस्टरमा राखेको भरमा फिल्म हेर्न हलमा दर्शकको भीड लाग्थ्यो । निर्माताले बोराका बोरा पैसा घर लैजान्थे । केही वर्षयता अभिनेता अनमोल केसीको हकमा यो कुरा लागू हुँदै गएको देखिन्छ । उनलाई एक झल्को हेर्नका लागि मात्रै पनि हल पुग्नेको संख्या ठूलो छ । ‘कृ’ र ‘क्याप्टेन’ लाई छाड्ने हो भने उनका अरु फिल्मले मनग्य कमाई गरेका छन् ।

विगत तीन वर्षदेखि उनलाई दर्शकले पर्दामा हेर्न पाएका छैनन् । साइन गरेका फिल्महरु नबन्नु र कोरोना कहरले फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुन नपाउँदा उनलाई ठूलो घाटा भएको छ । अब भने यो फिल्म बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । शुक्रवार फिल्मको शिर्ष गीत सार्वजनिक गरियो । गीत सार्वजनिक कार्यक्रममा पत्रकारले अनमोललाई विभिन्न विषयमा प्रश्न गरेका थिए ।

१. तपाईंका अधिकांश फिल्महरु लभस्टोरी छन् । फरक चिजबाट अफर नआएर हो वा आफैंले गर्न नचाहनु भएको हो ?

मलाई दर्शकहरुले लभस्टोरीमै रुचाइरहनु भएको छ । दर्शकहरुले मबाट जे मागिरहनु भएको छ मैले त्यही नै दिइरहेको हो ।

२. तपाईंलाई ब्यानर र हिरोइन दोहोर्‍याउनै गाह्रो पर्छ भनिन्छ । ‘ए मेरो हजुर ४’ मा ब्यानरमा र हिरोइन दुवै दोहोरिएका छन् । के कारणले दोहोरिन तयार हुनुभयो ?

मैले काम गर्ने अभिनेत्रीहरु सबै नयाँ हुन्छन् भनेर कहिल्यै प्लान गरेको थिइनँ । यो संयोग मात्र परेको हो । भोलीमा दिनमा पनि हरेक फिल्ममा नयाँ अभिनेत्री नै हुनुपर्छ भनेर प्लान गरेको छैन । दर्शकहरुले जोडी मन पराउनुभएको छ भने म दोहोर्‍याएर काम गर्न तयार छु । सातवटा फिल्ममा नयाँ अभिनेत्रीसँग काम गरेँ, त्यसमानेमा म आफूलाई भाग्मानी महशुस गर्छु ।

३. तपाईं पछिल्लो समय धेरै फिल्ममा आबद्ध हुनुभयो । केही छाड्नु भयो त केही बन्नै सकेका छैनन् । के कारणले हो ?

कोरोना महामारीका कारणले गर्दा पनि ठूला बजेटका फिल्महरु छायांकनमा जान सकेका छैनन् । म त जहिले पनि काम गर्नका लागि तयार नै छु । अहिले नै क्यामेरा राखिदिए पनि म जान्छु । तर, निर्माताहरुको पनि आफ्नै समस्या होला । त्यही कारणले नै साइन गरेका फिल्महरु पछि सरेका छन् ।

४. ‘ए मेरो हजुर’ को ‘फूलको थुंगा हौ कि’ बोलको हुक लाइनमा अभिनय गर्दा स्वर्गीय श्रीकृष्ण श्रेष्ठलाई कति सम्झनुभयो ?

उहाँ (श्रीकृष्ण श्रेष्ठ) फिल्ममा सक्रिय रहँदा म होस्टेलमा बस्थेँ । उहाँसँग मेरो त्यस्तो सामीप्यता त हुन पाएन । तर, नेपालको भेट्रान कलाकारले अभिनय गरेको गीतको हुक लाइनमा अभिनय गर्दा उहाँको याद हर हमेशा आउँथ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*