एक वर्षपछि फिल्मको सुटिङ सेटमा साम्राज्ञी
डेब्यू फिल्म ‘ड्रिम्स’ र दोस्रो फिल्म ‘ए मेरो हजुर २’ ले अभिनेत्री साम्राज्ञी आरएल शाहलाई बलियो स्टारडम दिलायो । उनको नाम मात्रैले पनि फिल्म चल्छ भन्ने विश्वास निर्मातारनिर्देशकमा देखिएको थियो । तर, करिअरको सुरुवातका दुई फिल्मबाहेक उनको स्टारडम बचाउन अरु फिल्मले सकेका छैनन् । ‘हिट हिरोइन’ मानिएकी उनी यतिबेला फ्लप फिल्मकी ‘क्विन’ बन्न थालेकी छन् ।
औसत चलेको ‘इन्टु मिन्टु लण्डनमा’ बाहेक ‘कायरा’, ‘मारुनी’, ‘रातो टीका निधारमा’ सुपरफ्लप भए । तर, लगातार फिल्म असफल भएपनि त्यसको असर उनको करिअरमा परेको छैन । उनले लगातार फिल्म साइन गरिरहनुले पनि उनीप्रति निर्मातारनिर्देशकको विश्वास अझै नडगमगाएको बुझ्न सकिन्छ । ‘रातो टीका निधारमा’ रिलिजपछि भने उनले २ वर्ष नयाँ फिल्म साइन गरेकी थिइनन् ।
पहिलो चरणको लकडाउनपछि फिल्म ‘तिम्रो मेरो साथ’ मा काम गरेकी उनले त्यसलगत्तै मिलन चाम्सको नयाँ फिल्म साइन गरेकी थिइन् । तर, निर्देशक चाम्सले तत्काल फिल्मको छायांकन नगर्ने भएपछि साम्राज्ञीले दशैंअघि फिल्म ‘ह्यारीकी प्यारी’ साइन गरिन् । यो फिल्मको यतिबेला पर्वत जिल्लामा छायांकन भइसकेको छ । र, एक वर्षपछि साम्राज्ञी फिल्मको सुटिङ सेटमा फर्किएकी छन् ।
फिल्ममा उनको जोडी कलाकार जीतु नेपालसँग बाँधिएको छ । जसले गर्दा फिल्ममा साम्राज्ञी र जितुको केमेस्ट्री कस्तो देखिने हो भन्ने कौतुहलता दर्शकमा बढेको छ । कपिल रिजालको निर्देशन रहेको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनालको पनि अभिनय छ । कमजोर बनेको स्टारडम बचाउन साम्राज्ञीका लागि यो फिल्म कुनै हालतमा हिट हुनुपर्ने दबाब छ ।







