सुपरहिरो फिल्म ‘सुपर धने’ बन्ने
सुपरहिरो फिल्म ‘सुपर धने’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको निर्माण घोषणा गरियो । अर्को वर्षको कार्तिकबाट छायांकन सुरु हुने फिल्मलाई सुमित सिंहले निर्देशन गर्नेछन् । हाल फिल्मको स्क्रिप्ट लेखनको कार्य भइरहेको र नेपालसँगै यूरोपमा छायांकन हुने बताइएको छ । फिल्मका लागि चाँडै कलाकार छनोट गरिने निर्देशक सिंहले बताए ।
‘सुपर धने’ को निर्माण घोषणा कार्यक्रममा साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ को छायांकन सकिएको जानकारी दिँदै ट्रेलर पनि सार्वजनिक गरिएको थियो । वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारहरुको अभिनय छ ।
बाल कलाकारहरु प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलकको समेत अभिनय रहेको वेब सिरिजको प्रस्तुतकर्तामा प्रज्ञा जोशी छिन् । नमस्ते टाकिज र सिनेमा हबको संयुक्त ब्यानरमा निर्माण भएको वेब सिरिजको निर्माता दिनेश श्रेष्ठ हुन् । सुमित सिंहको निर्देशनमा तयार भएको वेब सिरिजमा सुमित सिंह र राजन महर्जनको कथा लेखन र विकास चौधरीको संगीत रहेको छ ।
५ एपिसोडको वेब सिरिज र ‘सुपर धने’ फिल्मको निर्माण घोषणा कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर र निर्देशक घनश्याम लामिछाने अतिथीको रुपमा उपस्थित भएका थिए । उनीहरुले नेपालमा पहिलो पटक फरक विषयवस्तुमा फिल्म र वेब सिरिज निर्माण गर्ने चुनौती मोलेको भन्दै सफलताको शुभकामना दिए । फिल्ममा करिश्मा मानन्धरको अभिनय रहने सम्भावना प्रवल छ ।







