के ‘मंगलम’ को सिक्वेल बन्न लागेको हो ?

जनपत्र
२९ पुष २०७८, बिहीबार ०८:२७

चार वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘मंगलम’ समीक्षात्मक र व्यापारिक दुवै हिसाबले सफल ठहरिएको थियो । फिल्मले उठान गरेको विषयले दर्शकको मस्तिष्क मात्र हल्लाएन, सोच्न पनि बाध्य बनायो । अभिनेत्री मिथिला शर्मा र अभिनेता पुष्प खड्काको अभिनयले जीवन्त बनाएको फिल्मले यतिबेला यूट्युबमा प्रशंसा कमाइरहेको छ । दर्शकले सिक्वेलको व्यापक माग गरेका छन् ।

निर्देशक नवल नेपालले मंगलवार दिउँसो फेसबुकमा ‘मंगलम’ लेख्दै पुष्प खड्का र शिल्पा पोखरेलका केही पुराना तस्विरहरु साझेदार गरे । उनले फिल्मको सिक्वेल बन्नेतर्फ संकेत गरेको कतिपयको बुझाई छ । उनी पनि दर्शकबाट प्राप्त प्रतिक्रियाले सिक्वेल बनाउनु पर्छ कि भन्ने सोचमा भने पुगेका छन् । तर, अहिलेसम्म यसबारेमा कुनै पनि निर्णय नभइसकेको उनले जानकारी दिए ।

उनले भने( ‘हल र यूट्युबबाट आएको भाइब्रेटले एकखालको उर्जा भने दिएको छ । नेपालमा पारिवारिक ड्रामालाई स्वीकार गर्ने जुन चलन छ, त्यसलाई हेर्दा सिक्वेल बनाउनु पर्छ कि भन्ने चाहिँ लागेको हो । छवि बा (ओझा) सिक्वेल बनाउन तयार देखिनु भएको छ । पुष्प खड्का पनि सिक्वेल बनाउने कुरामा सकारात्मक हुनुहुन्छ रे । सबै कुरा सोचे जस्तो भयो भने सिक्वेल बन्न पनि सक्छ ।’

‘सिक्वेल बन्ने अवस्था आयो भने पुरानै स्टारकास्ट (शिल्पा पोखरेल) दोहोर्‍याउन समस्या होला नी त रु’ भन्ने फिल्मीखबरको प्रश्नमा निर्देशक नेपाल भन्छन्, ‘समस्या हुन्छ भन्ने लाग्दैन । संसारमा सबै कुरा सहमति र सहकार्यमा हुने गर्छ । यसमानेमा स्टारकास्टमा समस्या आउँदैन । सिक्वेल बन्ने अवस्था आयो भने सबैजना बसेर सल्लाह र सहमति गर्ने छौं । यो ठूलो कुरा हो जस्तो लाग्दैन ।’

‘मंगलम’ को सिक्वेल बनाउँदा पहिलो श्रृंखलाभन्दा मनछुने र अब्बल दर्जाको बनाउनु पर्ने चुनौती आफूहरुमा हुने भएकाले यसका लागि कन्टेन्ट बलियो चाहिने उनको तर्क छ । छविराज ओझा र आफ्नो मनमा सिक्वेल बनाउनु पर्छ भन्ने झिल्को उठे पनि भोलीका दिनले यसको तय गर्ने निर्देशक नेपाल बताउँछन् । सिक्वेलको रुपमा अगाडि बढाउन मिल्ने गरी ‘मंगलम’ लाई विट मारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*