दुई वटा फिल्म फ्लपपछि ‘हरर’को रहर, ‘पागलपनको उपज हो कठपुतली’
हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ शुक्रबारदेखि प्रदर्शन हुँदैछ। २ फिल्मका निर्माता पृथ्वी राना मगर हुन्। पृथ्वी फिल्मक्षेत्रमा नौलो नाम भने होइनन्। उनले यसअघि ‘परेनी माया जालैमा’ र ‘हंगामा’ निर्माण गरेका थिए। २० वर्षदेखि आफू यही क्षेत्रमा सक्रिय रहेको उनी बताउँछन्।
दुइ वटा फिल्म फ्लप भएपनि उनले हरर विधाको फिल्म निर्माण गरेका छन्। तेस्रो पटक फिल्ममा २ करोड लगानी गर्नु आफ्नो ‘पागलपन’ भएको उनी बताउँछन्।
‘मैले कहिले पनि पैसालाई महत्त्व दिइनँ। नेपाली चलचित्रले विदेशमा गएर प्रतिस्पर्धा गर्न सकोस्। यही सोचेर यो फिल्म बनाएको,ु उनले भने, ‘फिल्मको पेशा त पागलपन नै हो। मलाई घरमा पागल नै भन्छन्। २ फिल्म चुर्लुम्मै डुबे पनि मैले तेस्रो फिल्मबाट उठ्ने प्रयास गर्दैछु। आशा छ म तेस्रो पटक म सफल हुनेछु।ु फिल्मको कथा मन परेर युएनडीपीको जागिर नै छाडेको अभिनेत्री उषा रजकले सुनाइन्। जसकारण उनी आफूलाई महापागल भन्न रुचाउँछिन्।
‘२०१८ मा यूनडीपीमा काम गर्थें म। यस फिल्मको अफर आउँदा मैले जागिर नै छोडिदिएँ। मन परेको कामको अगाडि पैसा भनेको सहायक कुरा रहेछ। यूनडीपीको काम छोडेर अभिनयमा लाग्ने सायद म पहिलो पागल हुँ,’ उनले भनिन्।
त्यसैगरि कलाकार मिथिला शर्माले फिल्म क्षेत्रमा निरन्तर लागिरहनु पनि पागलपन नै रहेको बताउँछिन्। भन्छिन्, ‘एउटै क्षेत्रमा टिकिराख्नु पनि पागलपन नै हो। यदि तपाई कुनै काममा नाफानोक्सान हेर्न थाल्नुहुन्छ भने त्यो पागलपन होइन। जस्तोसुकै परिस्थिति आएर पनि त्यसमा निरन्तर लागिपर्नु पागलपन नै हो।’
फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्। एक दरबारिया राजपरिवारको कथा फिल्मले भन्ने सम्पदाले उल्लेख गरिन्। साथै यो फिल्म नेपाली मौलिक हरर फिल्म बनेको सम्पदाको दाबी छ। भिमसेन लामाको निर्देशन रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ।