‘८३’ का लागि रणवीर थिएनन् पहिलो रोजाई
कबीर खान निर्देशित फिल्म ‘८३’ शुक्रवारबाट प्रदर्शनमा आइसकेको छ । कोरोनाका कारण दुई वर्ष अड्किएको फिल्मलाई समीक्षक र दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । फिल्ममा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरेका छन् । तर, यो फिल्मका लागि उनी पहिलो रोजाई थिएनन् । पहिला नायक अर्जुन कपूरको नाम फिल्मका लागि सिफारिस भएको थियो ।
अर्जुनलाई फिल्मको स्क्रिप्ट मन परेको थियो । उनी काम गर्न पनि राजी भएका थिए । तर, निर्देशकको हेरफेरपछि कबीर खानले रणवीर सिंहलाई स्क्रिप्ट दिए । पिंकविलाको रिपोर्ट अनुसार, बुधवार भएको ‘८३’ को प्रिमियरमा अर्जुनलाई निमन्त्रणा गरिएको भए पनि उनी उपस्थित भएनन् । अर्जुन र रणवीर निकै मिल्ने साथी हुन् । उनीहरुले एकसाथ फिल्म ‘गुन्डे’ मा अभिनय गरेका थिए ।
सञ्जय सिंह पूरन सिंह चौहानले यो फिल्मको पहिलो ड्राफ्ट लेखेका हुन् । उनी आफैं फिल्मको निर्देशन गर्न चाहन्थे । विष्णुवर्धन इन्दुरीको साथमा उनले अर्जुनसँग स्क्रिप्टमा छलफलसँगै लुक टेस्ट पनि गरेका थिए । तर, पछि फिल्ममा कबीर खानको प्रवेश भयो र उनले अर्जुन कपूरलाई छाडेर रणवीरलाई अनुबन्ध गरे । फिल्म १९८३ मा भारतले जितेको क्रिकेट वर्ल्ड कपमा आधारित छ ।
फिल्ममा कपिल देवको भूमिकामा रणवीर सिंह र कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिकामा दीपिका पादुकोणले अभिनय गरेका छन् । फिल्ममा पंकज त्रिपाठी, ताहिर राज भसीन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशांत दहिया, हार्डी संधू, साहिल खट्टर, एमी विर्क, अदिनाथ कोठारे, धैर्य करवा र आर बद्रीको पनि मुख्य भूमिका रहेको छ ।







