उपासनालाई फिल्ममा अभिनय गर्नभन्दा पढ्न सजिलो
फिल्म ‘क्याप्टेन’ बाट अभिनय करिअर सुरु गरेकी उपासना सिंह ठकुरीलाई पहिलो फिल्मले नै सम्भावना बोकेको अभिनेत्रीको रुपमा उभ्याएको थियो । दोस्रो फिल्म ‘कबड्डी ३’ ले उनलाई सफलताको थप उचाइँमा पुर्यायो । दुई फिल्मबाटै युवापुस्तामा लोभलाग्दो क्रेज बनाएकी उनी अहिले हरेक निर्मातारनिर्देशकको पहिलो रोजाई बनेकी छन् । उनलाई फिल्म अफरको कमी छैन ।
‘कबड्डी ३’ रिलिजपछि अध्ययनका कारण करीब डेढ वर्ष नयाँ फिल्म साइन नगरेकी उनले पहिलो चरणको लकडाउन अन्त्यपछि फिल्म ‘डिसेम्बर फल्स’ मा काम गरेकी थिइन् । यसमा उनको जोडी अभिनेता आर्यन सिग्देलसँग बाँधिएको छ । अर्को फिल्म ‘मिरर’ मा पनि उनी आर्यनको जोडी भएर काम गर्दैछिन् । यसैबीच, गत महिना उनले नयाँ फिल्म ‘सत्यम्’ पनि साइन गरेकी छन् ।
अहिले ब्याच्लरमा अध्ययनरत उनले प्लस टूपछि अष्ट्रेलिया जानका लागि धेरै कन्सल्टेन्सी धाएकी थिइन् । तर, आयल्सको परीक्षा नदिँदै उनको मनस्थिति बदलियो र नेपालमै स्नातक गर्ने निर्णय गरिन् । अब मास्टर गरेर नेपालमै आफ्नो व्यवसाय सुरु गर्ने उनको योजना छ । बाल्यकालदेखि नै पढाईमा औसत रहेको बताउने उनी आफूलाई अभिनय गर्नभन्दा पढ्नै सजिलो लाग्ने बताउँछिन् ।
उपासना पुनः एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्रान्ड एम्बेसडरमा नियुक्त
उपासना सिंह ठकुरीको लोकप्रियतालाई ‘क्यास’ गर्न यतिबेला ठूला कम्पनीहरुबाट उनलाई ब्रान्ड एम्बेसडरको प्रस्ताव आइरहेको छ । गत वर्ष एजुकेसन एण्ड माइग्रेसन कर्नरले उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको थियो । उनको चुलिँदो लोकप्रियतालाई मध्यनजर गर्दै यो संस्थाले दोस्रो पटक उनलाई एक वर्षका लागि मोटो पारिश्रमिक तिरेर ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
संस्थाका कम्प्लाइन्स म्यानेजर नवराज प्रसाईंले युवापुस्तामाझ उपासनाको क्रेज र विद्यार्थीमाझ संस्थाको सकारात्मक कुरा प्रवाह गरेकाले पुनः ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जानकारी दिए । संस्थाका व्यवस्थापक ईश्वरराज मैनालीले उपासनाको आबद्धताले कर्नरलाई थप उचाइँ दिलाएको बताए । यस्तै, उपासना संस्थाले आफूमाथि गरेको विश्वासलाई डगमगाउन नदिने बताउँछिन् ।
कर्नरका सिड्नी निर्देशक सुनिल उप्रेतीले उपासनाको संस्थामा पुनः आबद्धता विद्यार्थीहरुकै चाहनाको परिणाम भएको बताए । यस्तै, संस्थाले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । पौष ७ गते काठमाडौं, पौष ९ गते पोखरा, पौष ११ गते इटहरी, पौष १२ गते दमक, पौष १३ गते विर्तामोड, पौष २३ गते हेटौंडा, पौष २४ गते चितवन र पौष २५ गते बुटवलमा शैक्षिक मेलामा हुनेछ । फिल्मीखबरबाट