‘कठपुतली’ ट्रेलरलाई दर्शक प्रतिक्रिया : ‘उत्कृष्ट हरर फिल्म हुनेछ’
नेपालमा अत्यन्त न्यून संख्यामा बन्ने जनरा हो, हरर । प्राविधिक रुपमा नेपालमा हरर फिल्म बनाउन चुनौतीपूर्ण भएकाले पनि निर्माताहरु यो जनरालाई प्राथमिकतामा राख्दैनन् । अर्कोतिर, नेपालमा बनेका हरर जनराका फिल्मले बक्सअफिसमा अपेक्षाकृत सफलता हासिल गर्न सकेका छैनन् । तर, बलिउड र हलिउडका हरर फिल्मले भने नेपालमा राम्रो कमाई गरेका उदाहरण छन् ।
नेपालमै बनेको स्तरीय हरर फिल्मको प्रतिक्षामा रहेका दर्शकका लागि बुधवार सार्वजनिक भएको ‘कठपुतली’ को ट्रेलरले ठूलो आश जगाएको छ । ट्रेलरमा समावेश दृश्य, सिनेम्याट्रोग्राफी, साउन्ड इफेक्ट र कलाकारहरुको अभिनयले दर्शकको ध्यान खिचेको छ । यूट्युब रिलिजको दुई दिनमा ८२ हजारभन्दा बढी भ्यूज मिलेको ट्रेलरलाई सकारात्मक प्रतिक्रियाको आइरो नै लागेको छ ।
ट्रेलरको कमेन्ट बक्समा कुङकुङ राईले आफू फिल्म हेर्न निकै उत्साहित रहेको बताउँदै लेखेका छन्, ‘यो नेपालको उत्कृष्ट हरर फिल्ममध्ये एक हुनेछ । अर्को विशेषता यो हो कि यसले कुनै एक राजाको शासनकालमा दरबारभित्र भएका घटनाहरू देखाउँछ, जुन वास्तविक हो ।’ त्यस्तै, पल्लवी गुरुङले नेपालमा यति स्तरीय हरर फिल्म बन्नु निकै खुसीको कुरा रहेको उल्लेख गरेकी छन् ।
अर्का यूट्युब प्रयोगकर्ता सन्दीप घिमिरेले राम्रो कन्टेन्टमा फिल्म बनेको र टिमको मिहिनेत पनि देखिएको बताएका छन् । उनले कमेन्टमा राम्रो शब्द लेखेर मात्र नहुने भन्दै हलमा गएर फिल्म हेर्न पनि सबैलाई आग्रह गरेका छन् । यी त प्रतिनिधि प्रतिक्रिया मात्र हुन्, ट्रेलरलाई अधिकांश उत्साहजनक प्रतिक्रिया मिलेको छ । ट्रेलरलाई प्राप्त प्रतिक्रियाबाट निर्माण टिम पनि खुसी देखिएको छ ।
अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगर निर्माता रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालाको अभिनय छ । फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन् । ‘कठपुतली’ को सह(निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।







