‘हजार जुनीसम्म’ : हलमा पत्तासाफ, यूट्युबमा सुपरहिट
![](https://www.janapatra.com/wp-content/uploads/2021/12/Swastima-Khadka-Aryan-Sigdel.jpg)
‘यूट्युबमा सित्तैमा फिल्म हेर्न पाएपछि महंगो टिकट काटेर दर्शक हलसम्म किन जान्छन् रु’ यो केही वर्षयता नेपाली फिल्म क्षेत्रमा उठेको गम्भीर प्रश्न हो । यूट्युबमा फिल्म सार्वजनिक गर्ने प्रवृतिले हलमा दर्शक घट्न थालेका छन् । तर, नेपाली निर्माताहरुले केही लाखको लोभमा फिल्मको यूट्युब राइट्स बेच्न छाडेका छैनन् । जसले गर्दा नेपाली फिल्मको घरेलू बजार नै डामाडोल बनेको छ ।
कुनै समय शहरका भित्तामा पोस्टर देखेको भरमा फिल्म हेर्नका लागि हलसम्म ओइरिने दर्शकहरु अहिले यूट्युबमा फिल्म पर्खेर बस्ने गरेका छन् । ‘केही समयमा यूट्युबमै फिल्म आइहाल्छ किन टिकट काटेर हेर्ने’ भन्ने सोचाइले दर्शकहरुको ठूलो वर्ग फिल्म हेर्न हलसम्म जानै छाडेको छ । तर, नेपाली निर्माताहरुले यस्ता कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउने गरेका छन् ।
दर्शकहरुको यूट्युबमा फिल्म पर्खिने बानीले पछिल्लो समय नेपाली फिल्म हलमा फ्लप र यूट्युबमा सुपरहिट हुने श्रृंखला बढेको छ । मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ को कुरा गर्ने हो भने दुई वर्षअघि प्रदर्शनमा आएको यो फिल्मले हलमा घुँडा टेकेको थियो । निर्माण टिमले प्रचार(प्रसार गतिलै गरे पनि दर्शकले भने फिल्मलाई पत्याएनन् । फिल्मको माउथ पब्लिसिटी पनि बलियो थिएन ।
तीन दिन अगाडि यो फिल्म ओएसआरको यूट्युब च्यानलमा रिलिज भएको छ । यूट्युबमा सार्वजनिक हुनसाथ फिल्म हेर्न दर्शक ओइरिएका छन् । यूट्युब रिलिजको तीन दिनमा फिल्मले २३ लाख बढी भ्यूज पाएको छ भने ९५ प्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त छ । जबकि, हलमा फिल्म हेर्दा नाक खुम्च्याउने दर्शक धेरै थिए । अहिले फिल्म यूट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ ।
हलमा नचलेको फिल्म यूट्युबमा सुपरहिट भएको ‘हजार जुनीसम्म’ पहिलो उदाहरण भने होइन । यसअघि कयैन् फ्लप फिल्मले यूट्युबमा उल्लेख्य भ्यूजसहित सकारात्मक प्रतिक्रिया बटुलेका छन् । दुई हप्तादेखि यूट्युब ट्रेन्डिङमा रहेका दुई नेपाली फिल्म ‘यात्रा र लम्फू’ पनि हलमा फ्लप भएका थिए । यूट्युबमा भने यी दुवै फिल्मलाई राम्रो भ्यूजसँगै सकारात्मक प्रतिक्रिय मिलेको छ ।
विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ मा आर्यन सिग्देल, सलोन बस्नेत, स्वस्तिमा खड्का, शिवहरी पौडेल, सञ्चिता लुइँटेल, अखिलेस प्रधान, प्रियंका कार्की, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा आर्यन दुई फरक चरित्रमा प्रस्तुत छन् । फिल्मलाई सिक्किममा पूर्व मुख्यमन्त्री पवन चाम्लिङका छोरा विशाल चाम्लिङले निर्माण गरेका हुन् । फिल्मीखबरबाट