कांग्रेसको १६ जिल्लाका महाधिवेशन प्रतिनिधिमा कुन पक्षका कति ?

जनपत्र
७ मंसिर २०७८, मंगलवार ०५:५९

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत १६ जिल्लाका महाधिवेशन प्रतिनिधिको टुङ्गो लागिसकेको छ । पहिले १३ हिमाली जिल्लामा अधिवेशन सकिएसँगै केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको थियो । हाल ३ जिल्ला सोलुखुम्बु, म्याग्दी र जाजरकोटको पनि टुङ्गो लागेको हो ।

जाजरकोटमा संस्थापनबाट १५ तथा इतर पक्षबाट १० जना महाधिवेशन प्रतिनिधि आएका छन् । त्यस्तै म्याग्दीमा संस्थापनतर्फ १६ तथा इतरतर्फ ९ जना महाविधेशन प्रतिनिधि आएका छन् । सोलुखुम्बुमा भने २१ जना संस्थापन इतर तथा ४ जनामात्र संस्थापन पक्षका महाधिवेशन प्रतिनिधि आएका छन् ।

योसँगै कुन खेमाका कति प्रतिनिधि आए भन्ने जोड घटाउ पनि भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र संस्थापन इतर समूह कसको पक्षमा पल्ला भारी हुने हो त्यसको पनि कार्यकर्ताहरूले हिसाबकिताब गर्न थालेका छन् ।

संस्थापन पक्षमै रहेका विमलेन्द्र निधीले देउवालाई कति घाटामा पार्ने हुन्, संस्थापन इतर समूहमा एक मात्र उम्मेदवार नहुँदा देउवालाई कति फाइदा हुने हो त्यसको पनि लेखाजोखा नेता कार्यकर्ताहरू गर्न थालेका छन् । संस्थापन पक्षबाट गोपालमान श्रेष्ठले पनि सभापतिमै उम्मेदवारी दिने भन्दै अड्डी कसेको कस्यै छन् ।

यसअघि भएका १३ जिल्लाको अवस्था–
अधिवेशन सम्पन्न भएका १३ जिल्लाहरू ताप्लेजुङ, सङ्खुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुरा मध्ये ७ जिल्लामा सभापति देउवा निकट आएका छन् । बाँकी छ जिल्लामा संस्थापन इतर पक्षका सभापति चुनिएका छन् । अधिवेशन भएका १३ मध्ये दुई निर्वाचन क्षेत्र भएको गोर्खामा संस्थापन इतरका सभापति चुनिँदा महाधिवेशन प्रतिनिधि पनि संस्थापन इतर पक्षकै बढी आएका छन् ।

अधिवेशन सकिएका १३ मध्ये ताप्लेजुङका गजेन्द्र तुम्याहाङ्, मनाङका शङ्कर गुरुङ, रुकुम पूर्वका केशरमान रोका, हुम्लाका मोहनविक्रम शाही, रामेछापका कान्छाराम तामाङ, मुगुका ऐनबहादुर शाही र बझाङका खड्ग बोहरा संस्थापन पक्षका हुन्। गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, दोलखाका बर्मा लामा, कालिकोटका अम्मरबहादुर शाही, सङ्खुवासभाका दीपक खड्का, बाजुराका रामसिंह रावल र मुस्ताङका रोमी गौचन संस्थापन इतर समूहका हुन्।

अधिवेशन भएको सुदुरपश्चिमको हिमाली जिल्ला बाजुरामा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा। शशाङ्क कोइराला समूह र अर्का नेता कृष्णप्रसाद सिटौलाको समूहले पछि पार्‍यो। पौडेल९कोइराला र सिटौला समूहले संयुक्त रूपमा देउवा समूहलाई टक्कर दिँदा रामसिंह रावल सभापति मात्र भएनन् महाधिवेशन प्रतिनिधि पनि आफ्नो पक्षमा धेरै पारे। बाजुरामा देउवा पक्षका ११ महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा देउवा इतर समूहका सभापति सहित १५ जना निर्वाचित भए । देउवा इतर समूहमा पनि सिटौला पक्ष यहाँ हाबी देखिएको छ। सिटौला समूहका ९ जना निर्वाचित हुँदा ६ जना पौडेल कोइराला समूहबाट निर्वाचित भएका छन्।

बझाङमा पार्टी सभापति देउवा निकट निर्वाचित भए पनि महाधिवेशन प्रतिनिधि भने बराबरीमै चित्त बुझाउनु परेको छ। बझाङमा देउवा निकट १२ जना महाधिवेशन प्रतिनिधि चुनिदा १२ जना देउवा इतरका आएका छन् । कर्णालीका ३ जिल्लामा सकिएको अधिवेशनको नतिजाले देउवा पक्षलाई बलियो देखाएको छ। हुम्ला र मुगुमा देउवा निकट पार्टी सभापति भएका छन् भने कालिकोटमा पौडेल९कोइराला निकट सभापति भएका छन्। महाधिवेशन प्रतिनिधिमा पनि कर्णालीमा देउवा पक्ष नै बलियो देखिएको छ। हुम्लामा सभापति सहित २६ जना महाधिवेशन प्रतिनिधि सबै देउवा पक्षबाटै चुनिएका छन्।

केन्द्रीय सदस्य जीवन बहादुर शाहीको प्रभावकै कारण हुम्लामा देउवाले एकलौटी मत पाउने भएका छन्। मुगुमा पनि देउवा निकट सभापति चुनिदा १७ जना महाधिवेशन प्रतिनिधि पनि देउवालाई मत हाल्ने गरि आएका छन्। मुगुमा देउवा इतर समूहबाट जम्मा ८ जना मात्र महाधिवेशन प्रतिनिधि चुनिएका छन्। कालिकोटमा भने पार्टी सभापतिमा पौडेल९सिटौला पक्षले सर्वसम्मत सभापति पाउने नाममा महाधिवेशन प्रतिनिधि भने देउवा समूहलाई बढी दिएको छ। यहाँ वडादेखि महाधिवेशन प्रतिनिधासम्म सबै सर्वसम्मत चुनिएको हो। यसरी सर्वसम्मत हुँदा महाधिवेशन प्रतिनिधि देउवा पक्षका १५ जना चुनिए भने पौडेल९कोइराला र सिटौला समूहका १० जना मात्र चुनिए।

रुकुम पूर्वमा आइपुग्दा पनि देउवाको प्रभाव राम्रै देखिएको छ। रुकुम पूर्वको सदरमुकाम बनाउँदा नवनिर्वाचित सभापति केशरमान रोकाले तत्कालीन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, जो अहिले पनि सोही पदमा रहेका छन्, उनको सहयोग पाएका थिए। अहिले उनै रोका सभापति देउवाको त्यस क्षेत्रको सारथि बन्ने पक्का भएको छ। उनले त्यस क्षेत्रबाट सभापति देउवालाई झन्डै दुई तिहाइ मत खसाल्ने आङ्कलन स्थानीय कांग्रेसजनमा छ। देउवाले सभापति सहित १७ मत पाउने आङ्कलन हुँदा देउवा इतर समूहले ८ मत जतिमा चित्त बुझाउनु पर्ने अवस्था छ।

हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङमा भने अलि फरक अवस्था छ। मुस्ताङमा पूर्व मन्त्री समेत रहेका रोमी गौचन थकाली निर्विरोध सभापति हुँदा उनीसँगै सबै महाधिवेशन प्रतिनिधि पनि उनी निकट नै आएका छन्। केन्द्रमा महामन्त्री डा। शशाङ्क कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग निकट रहेका गौचनले हुम्लामा जीवन बहादुर शाहीले जस्तै सबै २५ मत देउवा इतर समूहमा खसाल्ने आङ्कलन कार्यकर्ताहरूमा छ। मनाङमा सभापति देउवा निकट पार्टी सभापति हुँदा उनीसँगै अन्य १६ जना वा त्यो भन्दा एक दुई बढीले देउवालाई मत दिन सक्ने विश्लेषण स्थानीय कांग्रेसजनको छ। यो अवस्थामा देउवा इतर समूहमा ७ वा ८ मत खस्न सक्ने विश्लेषण छ।

गोर्खामा महामन्त्रीका उम्मेदवार गगन थापा निकट नन्दु न्यौपाने पार्टी सभापति भएका छन्। उनले महाधिवेशन प्रतिनिधिमा पाएको मत पछि सर्वसम्मत हुने वातावरण बनेको थियो। उनी सर्वसम्मत हुँदा उनीसँगै सभापति देउवा निकट संस्थापन इतरका करिब ३५ जना निर्वाचित भएका छन्। उनीहरूले देउवा इतरका उम्मेदवारलाई मत हाल्ने छन् भने देउवा निकट २ जना केन्द्रीय सदस्य सहित १४ जनाले देउवालाई मत हाल्नेछन्। सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधीलाई पनि गोर्खाबाट २ मत खस्ने कार्यकर्ताहरू बताउँछन्। ​

दोलखा र रामेछापमा भने यस पटक स्थानीय संस्थापन पक्ष पराजित भई नयाँ नेतृत्व आएको छ। दोलखामा देउवा निकट सभापति पराजित भई संस्थापन इतरका बर्मा लामा सभापतिमा आउँदा उनीसँगै २१ जना सोही समूहबाट चुनिएका छन्। देउवा निकट संस्थापनको पक्षमा ६ मत मात्र हुने आङ्कलन स्थानीय कांग्रेसजनले गरेका छन्। रामेछापमा पौडेल रकोइराला निकट तत्कालीन सभापति पराजित हुँदा देउवा निकट कान्छाराम तामाङ सभापतिमा निर्वाचित भएका छन्। तर देउवालाई मत हाल्ने संस्थापन निकटहरू भने खासै महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सकेनन्। सभापति सहित ४ जना मात्रै देउवा निकट रहेको र बाँकी २२ जना देउवा इतरका रहेका छन्। २२ मतमा केही सिटौला पक्षका समेत रहेको बताइएको छ।

पूर्वको हिमाली जिल्ला सङ्खुवासभामा देउवा इतर समूहबाट दीपक खड्का सभापति निर्वाचित हुँदा उनीसँगै २२ जना देउवा इतर समूहलाई मत हाल्ने गरि चुनिएका छन्। २२ मध्ये २ जना सिटौला समूहका रहेको बताइन्छ। भारी मतले निर्वाचित भएका खड्काले संस्थापन इतरलाई पनि भारी मत जाने गरि महाधिवेशन प्रतिनिधिमा ल्याउन सफल भएका छन्। ताप्लेजुङमा भने देउवा निकट सभापति चुनिदा महाधिवेशन प्रतिनिधिहरू पनि देउवा निकट नै धेरै आएका छन्। सभापति सहित १५ जना देउवा निकट आउँदा १० जना देउवा इतर पक्षबाट आएका छन्।

अधिवेशन सम्पन्न भएका १३ जिल्लाको महाधिवेशन प्रतिनिधि र सभापतिहरूको पक्षधरतालाई नजिकबाट नियाल्दा देउवाको पक्षमा करिब १५८ मत पर्ने अवस्था रहेको छ। देउवा इतरको एक मात्र उम्मेदवार भएको अवस्थामा १९६ मत संस्थापन इतरमा खस्ने आङ्कलन काँग्रेस कार्यकर्ताहरूको छ। एक मात्र उम्मेदवार नभएको अवस्थामा यसको फाइदा देउवाले उठाउने विश्लेषण छ। यद्यपि यो मतमा सिटौला समूहको मत समेत जोडिएको छ।

संस्थापन इतरको आउने मतमा सिटौला समूहको करिब २० मत रहेको स्थानीय काँग्रेस कार्यकर्ताहरूसँगको परामर्शपछि हाम्राकुरा संवाददाताहरूले जनाएका छन्। संस्थापन पक्षकै निधी समेत सभापति उम्मेदवार हुँदा हिमाली जिल्लाबाट नगण्य मत मात्र प्राप्त हुने देखिएको छ। निधीको नाममा गोर्खाबाट केही मत बाहेक अधिवेशन भएका हिमाली जिल्लाबाट आउने सम्भावना कम रहेको विश्लेषण छ। हाम्राकुराबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*