साम्राज्ञी र उपासनाको निकटता
नेपालमा कलाकारहरुबीच सुमधुर सम्बन्ध कायम भएको कमै देख्न पाइन्छ । बढी जसो त दुश्मनीका खबरहरु नै आउने गर्दछन् । सम्बन्ध राम्रो नभए पनि मिडियाको अगाडि घनिष्ट सम्बन्ध देखाउन भने नेपाली कलाकारहरु निकै माहिर छन् । व्यवसायिक प्रतिस्पर्धाका कारण उनीहरुको सन्तुलित र दिगो सम्बन्ध बन्न सकेको हुँदैन । तर, केही कलाकारहरु असाध्धै मिल्ने पनि हुन्छन् ।
अभिनेत्री साम्राज्ञी आरएल शाहको कुरा गर्ने हो भने उनको आफ्ना समकालीन कलाकारसँग न त्यति साह्रो निकटता न त दुश्मनी नै छ । तीन वर्षअघि जापानमा भएको एक अवार्ड कार्यक्रममा जाँदा उनी अभिनेत्री वर्षा राउतसँग नजिकिएकी थिइन् । त्यहाँ रुम पार्टनर भएकाले उनीहरुबीच राम्रो मित्रता बनेको थियो । तर, नेपाल फर्केपछि उनीहरुबीच खासै भेट र कुराकानी भएको छैन ।
अहिले साम्राज्ञीको निकटता अभिनेत्री उपासना सिंह ठकुरीसँग बढ्दो छ । केही समययता उनीहरुले राजधानीका विभिन्न रेस्टुराँमा भेटेका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । बिहीवार साम्राज्ञीको जन्मदिन सेलिब्रेसनमा पनि उपासना पुगेकी थिइन् । त्यहाँ उनीहरु एकअर्कासँग निकै नजिक र आत्मीय देखिएको उपासनाले इन्स्टाग्राममा पोस्ट गरेको तस्विरले बुझाउँछ ।
उनीहरु दुवैलाई भुवन केसीले आफ्नो फिल्मबाट डेब्यू गराएका हुन् । साम्राज्ञीले फिल्म ‘ड्रिम्स’ र उपासनाले फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेका थिए । दुवै अहिले नेपाली फिल्मका सर्वाधिक खोजिने र महंगा अभिनेत्रीमा पर्छन् । तर, नेपालमा कलाकारहरुको मित्रता खासै लामो समय टिकेका उदाहरण छैनन् । साम्राज्ञी र उपासनाको मित्रता दिगो होस्, यही कामना गरौं । फिल्मीखबरबाट