हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई जग्गा अभाव
हेटौंडा / हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग सञ्चालनका लागि जग्गाको अभाव भएको छ । हाल एक सय एकवटा उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्रमा ३० वटा नयाँ उद्योग थपिँदै छन् । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार तत्काल नयाँ उद्योग दर्ता तथा सञ्चालनका लागि जग्गा नहुँदा समस्या भएको छ । ‘केही उद्योगहरू जग्गाका लागि ताकेता गरिरहेको भए पनि जग्गा नहुँदा दिन सकिरहेका छैनौं ।’
कार्यालयका अधिकृत राजेन्द्र श्रेष्ठका अनुसार जग्गाको अभाव पूर्ति गर्न औद्योगिक क्षेत्रको पूर्वपट्टि खाली रहेको २६।५२ रोपनी जग्गाका लागि टेन्डर आहृवान गरिएको छ । ३१ सय १९ रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र फैलिएको छ ।
‘खाली जग्गामा पानी, विद्युत्को अभाव छ । उक्त जग्गाका लागि टेन्डर आहृवान गरिसकेका छौं । अझै केही समय लाग्छ नयाँ उद्योगका लागि जग्गा उपलब्ध गराउन,’ उनले भने । दुई सय ९० रोपनी जग्गा विस्तारित औद्योगिक क्षेत्रको रूपमा थपिए पनि नयाँ उद्योग सञ्चालन अनुमति दिन अहिले जग्गाको अभावले समस्या परेको छ ।
चालू आर्थिक वर्ष २०७५र०७६ मा औद्योगिक क्षेत्रभित्र थप ३० वटा नयाँ उद्योग सञ्चालनमा आउने भएका छन् । २०७३र०७४ सालमा जग्गा दर्ता गरे पनि उद्योगको भौतिक संरचना नबनाएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाहीको प्रक्रिया अगाडि बढाएसँगै उक्त उद्योगहरूले भौतिक संरचना निर्माण सुरु गरेका हुन् ।
अधिकांश उद्योगहरू यसै आर्थिक वर्षभित्रबाट सञ्चालनमा आउनेछन् । हाल तीनवटा उद्योग मात्र औद्योगिक क्षेत्रभित्र बन्द छन् ।
कान्तिपुर दैनिकबाट साभार ।







