यी व्यक्तिले आफू विवाहित छु भन्ने नै बिर्सिए, अनि पत्नीसँग पुनः प्रेममा परी गरे विवाह !
अमेरिकामा गत डिसेम्बर महिनाको एउटा शनिवार साँझ । पिटर र लिसा मार्शल सोफामा बसेर मन पर्ने टेलिभिजन शो हेरिरहेका थिए । त्यसबेलामा पिटरले लिसालाई हेरे अनि मसँग बिहे गर्छ्यौ भनी सोधे । तर पिटर र लिसाको धेरै अघि बिहे भइसकेको थियो ।
पिटरलाई स्मरणशक्ति गुम्ने अल्जाइमर नामक रोग लागेको थियो । तीन वर्षअघि यो रोग लागेपछि उनले लिसासँगको प्रेम र विवाह सबै बिर्से ।
‘यसले मुटु छियाछिया बनाउँछ,’ लिसाले सीएनएनलाई बताइन् । ‘हामीले नयाँ स्मरणहरू बनाएका छौं तर म उनलाई जतिखेर त्यो क्षण सम्झन्छौ भनी सोध्नुपर्दा पीडा अनुभव गर्छौं । म उससँग मिलेर पुराना कुरा सम्झन चाहन्छु तर पिटर केही पनि सम्झन सक्दैनन् । अहिले तत्कालको कुरा त उनी सम्झँदैनन्, २० वर्षअघिको कुरा कहाँबाट याद हुनु उनलाई रु’
यो जोडीको विवाह भएको १२ वर्ष बितिसकेको छ । उनीहरू पेन्सिल्भेनियामा छिमेकी हुँदा भेटघाट भएको थियो । त्यतिखेर उनीहरूको अर्कैसँग विवाह भइसकेको थियो र बच्चा हुर्काइरहेका थिए । पछि उनीहरूले आआफ्ना जोडीसँग पारपाचुके गरे अनि सन्तानहरू हुर्केर कलेज जान थालेपछि विवाह पनि गरे । पतिमा क्रमशः परिवर्तन आउँदै गएको लिसाले अनुभव गरिन् । तर त्यसलाई स्वीकार्न उनलाई गाह्रो भयो ।
उनी साँचो कहाँ राखेको छ भन्ने नै बिर्सन थाले । अनि वालेट भुल्न थाले । पछि गएर त उनी शब्द र तिनको अर्थ पनि बिर्सन थाले । उनलाई वाक्य बनाउन नै गाह्रो हुन थाल्यो । आफूहरू बूढो हुँदै गएकाले यस्तो समस्या आएको भन्ने उनलाई लाग्यो । व्यापक स्वास्थ्य जाँचपछि सन् २०१८ मा पिटरलाई अल्जाइमर रोग लागेको थाहा भयो ।
अनि पिटरका लागि सबै स्मृतिहरू विलुप्त हुँदै गए । उनले लिसासँगको विवाह नै बिर्से । अहिले आएर उनीहरूबीच पुनर्विवाह भएको छ तर यो कुरा उनले पुनः बिर्सन सक्ने सम्भावना बाँकी छ । एजेन्सी