मकवानपुर उद्योग बाणिज्यसंघको मेलाबाट ६३ लाख बचत

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले फागुनमा हेटौंडामा सञ्चालन गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिब ६३ लाख रुपियाँ बचत गर्न सफल भएको छ ।
बिहीबार संघले पत्रकार सम्मेलनमार्फत् मेलाको हिसाब सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको हिसाबअनुसार संघले पल्पसा हलमा निर्माण हुँदै गरेको अतिथि सदन निर्माणका लागि मेलाबाट ५८ लाख ४२ हजार ६ सय ३४ रुपियाँ आम्दानी भएको छ भने नियमिततर्फ संघलाई ४ लाख ५२ हजार ३ सय २८ रुपियाँ नाफा भएको छ ।
मेलाबाट नियमिततर्फ ३२ लाख २७ हजार ६० रुपियाँ र अतिथि सदन निर्माणतर्फ एक करोड ७ लाख ५ हजार ४ सय रुपियाँ गरी एक करोड ४० लाख १३ हजार २ सय ६० रुपियाँ आम्दानी भएको संघ अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । जसमध्ये ७७ लाख १८ हजार २ सय ९६ रुपियाँ खर्च भएको उनले बताए । मेला आयोजनाको मुख्य उद्धेश्य पल्पसा सभाहलमा सुविधासम्पन्न अतिथि सदन निर्माण गर्नु रहेको भन्दै अध्यक्ष कटुवालले मेलामा धेरैले अतिथि सदन निर्माणको लागि सीधै रकम तथा विभिन्न सामग्री सहयोग गरेको जानकारी दिए ।
संघले आन्तरिक तथा वाह्य आगन्तुकलाई लक्षित गरी पल्पसा परिसरमा अतिथि सदन निर्माण गरिरहेको जानकारी दिँदै उनले संघमा संकलन भएको र भवनका लागि प्राप्त रकम अतिथि सदनकै लागि खर्च गरिने बताए । मकवानपुर उद्योग वाणिज्य संघले पल्पसा सभागृह परिसरमा निर्माण गर्न लागेको अतिथि सदनको कात्तिक १९ गते हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका थिए । तिहारको पहिलो दिन विहान ७ बजेर २८ मिनेटको शुभ साइतमा शिलान्यास गरिएको हो । संघ अध्यक्ष कटुवाल र नगरप्रमुख महतले संयुक्तरुपमा पूजा गरेका थिए ।
संघको हेटौंडा वडा नम्बर २ मा रहेको जग्गामा पल्पसा सभागृहलाई यथावत् राखी उत्तरपश्चिम भागको १५ धुर जग्गामा ३२ कोठा र १ अत्याधुनिक सभाहल समेतको ५ तले आधुनिक भवन निर्माण गर्न लागिएको हो । भवन २ वर्षभित्र निर्माण गरिसक्ने संघ सचिव तथा संयोजक विष्णुगोपाल महर्जनले बताए । उक्त भवन करिब ५ करोड लागतमा निर्माण सम्पन्न हुने लक्ष्य लिइएको छ । निर्माणमा लाग्ने आवश्यक खर्च संघलाई भार नपर्ने गरी दाताहरुको सहयोगमा संकलन गर्ने योजना राखिएको छ । अतिथि सदनमा व्यक्ति, संघ÷संस्था जो कोहीले रकम जम्मा गर्न सक्ने व्यबस्था गरिएको र दाताहरुको नाम सहयोग राशिअनुसार शीलालेखदेखि अतिथि सदन र सभाहलमा राखिने अध्यक्ष कटुवालले बताएका छन् ।