पत्रकारले रचनात्मक आलोचना र टिप्पणि गर्नुपर्छ–मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारका बारेमा पत्रकारले रचनात्मक ढंगले आलोचना र टिप्पणि गर्नुपर्ने बताउनुभएको छ । तर, पन्चायत कालमा चलाउने कलम भन्दा पनि गणतन्त्रमा चलाउने कलम चलाउनका लागि उहाँले आग्रह गर्नुभयो । राम्रा काम गर्दा गर्दै पनि लाल्छना लगाउने काम बन्द गरिनुपर्ने उहाँले बताउनुभयो ।
प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रेस रजिष्ट्रारको कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को संयोजनमा आम सञ्चारमाध्यमको प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले पत्रिका, रेडियो दर्ता गरी होल्ड मात्र गरेर राख्नेपरिपार्टीको अन्त्य हुनुपर्ने बताउनुभयो । दर्ता गरेर पाँच बर्ष सम्म संचालन नगर्ने मिडिया खारेज गरिनुपर्ने उहाँले बताउनुभयो ।
प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक विकासका लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिने बताउनुभएको छ । संविधानको मर्म र भावनालाई बाँझिने गरी सञ्चारसम्बन्धी विधेयक सरकारले पारित नगर्ने स्पष्ट पार्नुभयो । पत्रकारले आ–आफ्नो आचारसंहितामा रहेर सरकारको स्वस्थ आलोचना गर्दा सरकारलाई मार्गदर्शन हुने र जनताको हितमा काम गर्दा कमी कमजोरीलाई सुधार गरी भ्रष्टाचारलाई शून्य सहनशीलतामा ल्याउन सकिने विचार राख्नुभयो ।
पत्रकारले राज्यबाट मात्र खोज्ने भन्दा पनि राज्यप्रतिको दायित्व पनि पुरा गर्नुपर्ने बताउनुभयो । पत्रकारका नाममा जेगरेपनि हुने भन्ने परिपार्टीलाई त्याग्नुपर्ने बताउनुभयो । समाचार लेख्दा पुर्बाग्राही भएर लेख्न नहुने बताउनुभयो ।