एमाले महाधिवेशन असफल बनाउने खेल भइरहेको छ–अष्टलक्ष्मी शाक्य
![](https://www.janapatra.com/wp-content/uploads/2021/11/uml-sasadi-dal.jpg)
मकवानपुर — नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशन असफल बनाउने खेल भइरहेको बताएकी छन् । पार्टीको महाधिवेशन असफल बनाउन विभिन्न तत्वहरु क्रियाशील भइरहेको उनले दाबी गरिन् । सोमबार वाग्मती प्रदेशको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने बताइन् ।
प्रदेशकी पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले सम्पूर्ण प्रदेशसभा सांसद तथा कार्यकर्तालाई तोकिएकै समयमा महाधिवेशन हुने भएकाले त्यसलाई सफल बनाउन आ(आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न समेत आह्वान गरेकी छन् । ‘एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ रु कसरी भूमिका विहीन अवस्थामा पुर्याउन सकिन्छ भनेर विभिन्न तत्वहरु क्रियाशील भइरहेका छन्, ’ उनले भनिन्, ‘यतिबेला एमालेमाथि चारैतिरबाट प्रहार भइरहेको छ । त्यसकारण हामीले योजनाबद्ध ढंगबाट सदन र पार्टीमा आफ्नो जिम्मेवारी निर्वाह गर्न जरुरी छ ।’
उनले राष्ट्रिय राजनीतिको असर प्रदेशसभामा पर्न नदिन धेरै कोसिस गर्दा पनि नसकिएको बताइन् । प्रदेशसभाको स्थापनादेखि सत्तापक्षको रुपमा रहेको एमाले पहिलो पटक सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिका प्रस्तुत हुँदैछ । यसबीचमा बहुमतका आधारमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । एमालेसँग हाल सभामुखसहित सदनमा ४३ मत रहेको छ ।
‘प्रदेशसभामा हाम्रो भूमिका फेरिएको छ । हामी पहिलो पटक प्रतिपक्षीको रुपमा प्रस्तुत भएका छौं । अब हामी सशक्तरुपमा प्रस्तुत हुनुपर्छ,’ संसदीय दलका नेता समेत रहेकी शाक्यले बैठकमा भनिन्, ‘हामी कमजोर भएको खण्डमा सरकार गलत बाटोमा जान्छ । त्यसकारण योजना बनाएर अगाडि बढ्न जरुरी रहेको छ । ’ इकान्तिपुरबाट ।