हलमा फ्लप ‘डाँडाको वर पीपल’ अब ओटीटीमा
फिल्म प्रदर्शनका लागि दशैं सबैभन्दा उपयुक्त समय मानिन्छ । दशैंको विदामा फिल्मले राम्रो कमाई गर्ने गरेका छन् । कोरोना महामारीअघि दशैंमा फिल्म प्रदर्शन गर्न निर्माताबीच हानाथान हुन्थ्यो । तर, कोरोनाका कारण अघिल्लो र यसपटकको दशैंमा हल सुनसान रहे । अघिल्लो वर्षको दशैंमा हल नखुल्दा फिल्मै रिलिज भएनन् । यो पटक फिल्म लाग्दा पनि हलमा दर्शक आएनन् ।
यसपालीको दशैंमा कुनै ठूला फिल्म नआउने भएपछि ओटीटी प्लेटफर्मका लागि निर्माण गरिएको फिल्म ‘डाँडाको वर पीपल’ लाई फूलपातीमा रिलिज गरियो । शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत जस्ता चलेका कलाकारको अभिनय रहेको फिल्मले कोरोनाका कारण सुस्ताएको फिल्म क्षेत्रलाई चलायमान बनाउने धेरैको अपेक्षा थियो । तर, ‘महानायक’ विवादले फिल्म डुब्यो ।
निर्देशक शोभित बस्नेतले फिल्मलाई चर्चामा ल्याउन ‘महानायक’ विवाद झिकेका थिए । फिल्म रिलिजको संघारमा उनले राजेश हमाल नभइ भुवन केसी मात्र ‘महानायक’ पदवीको हकदार रहेको बताएपछि दर्शकले फिल्म बहिस्कार गर्ने कुरा उठाए । नभन्दै फिल्मले हलमा पानीसम्म भन्न पाएन । प्रदर्शनको पहिलो हप्ताबाटै काठमाडौं र मोफसलका हलहरुले फिल्म हटाइसकेका छन् ।
सिनेमा घरमा दर्शकको साथ पाउन नसकेको यो फिल्मलाई नजिकिँदै गरेको तिहारमा भने ओटीटी प्लेटफर्ममा रिलिज गरिँदैछ । यही बिहीवारबाट डिसहोमको च्यानल नम्बर ८८८ मा र लक्ष्मीपुजाबाट ओटीटीमा फिल्म रिलिज हुने बुढासुब्बाका सञ्चालक तथा फिल्मका निर्माता नवराज गिरीले जानकारी दिए । फिल्ममा रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेतको पनि अभिनय छ । फिल्मीखबरबाट