सुरविनाको हातमा बल्ल पर्‍यो फिल्म

जनपत्र
१० कार्तिक २०७८, बुधबार ०७:५७

बोल्ड नायिकाको छवि बनाएकी सुरविना कार्की लामो समयदेखि सफलताको खोजीमा छिन् । फिल्म ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले त्यसयता आधा दर्जन फिल्ममा अभिनय गरे पनि करिअरले गति समात्न सकेको छैन । नेपाली फिल्ममा भविष्य नदेखेपछि उनी बलिउडमा प्रवेश गर्न तीन वर्ष भारत समेत बसिन् । तर, बलिउड छिर्ने उनको सपना पूरा हुन सकेन ।

कोरोना महामारी सुरु भएयता उनी नेपालमै छिन् । पहिलो लकडाउनमा अभिनय गरेको ‘के माया लाग्छ र रु’ गीतले उनलाई एकाएक चर्चामा ल्याएको थियो । यो गीतबाट उनी दर्शकमाझ धेरथोर चिनिएकी छन् । तर, विगत ५ वर्षदेखि उनी फिल्मविहीन थिइन् । उनको पछिल्लो रिलिज फिल्म ‘लुकामारी’ हो । लामो समयको प्रतिक्षापछि सुरविनाको हातमा नयाँ फिल्म परेको छ ।

सोमवार उनी नवल खड्काले निर्देशन र निर्माण गर्ने फिल्म ‘काँडेतार’ मा अनुबन्ध भएकी हुन् । राष्ट्र र राष्ट्रियताको विषयमा निर्माण हुन लागेको फिल्ममा आफू आबद्ध हुन पाएकोमा सुरविनाले खुसी व्यक्त गरेकी छन् । उनीभन्दा अगाडि यो फिल्ममा नायक गौरव पहारी र नायिका रेविका गुरुङ अनुबन्ध भइसकेका छन् । निर्देशक खड्का स्वयंले पनि फिल्ममा अभिनय गर्नेछन् ।

तिहारपछि छायांकनमा निस्कने फिल्मले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय उठाउने निर्देशक खड्काले जानकारी दिए । फिल्मले राष्ट्रलाई झकझकाउने पनि उनको विश्वास छ । नेपाल र भारत सीमामा खिचिने यस फिल्मलाई नवल र शंकर कार्कीले निर्देशन गर्नेछन् । नवलले यसअघि पनि राष्ट्रियताको विषयमा ‘आवाज, दशगजा’ जस्ता फिल्म बनाएका छन् । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*