पौडी खेलाएर गाउँपालिकाको साढे ४ लाख आम्दानी

हेटौंडा / मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ कोगटेमा कृतिम पोखरीमा हिजो आजको चर्को गर्मिमा पौडी खेलेर रमाउनेहरु धेरै छन् । बषौ अघिको पौडी पोखरीमा पहिले कोगटे वरपरबाट मात्र पौडी खेल्नका लागि आउने गरेका थिए । तर, अहिले यहाँ पौडी खेल्नकै लागि काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुरका बिभीन्न गाउँपालिका नगरपालिका लगायतका क्षेत्रबाट आउने गरेको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।
बाहिरी जिल्लाबाट घुम्दै फिर्दै आउनेहरु यहाँको ठुलो पोखरीमा पौडी नखेलीकन जानै मान्दैनन् । देख्दै सुन्दर र सफा देखिने बषौ पहिलेको पौडी पोखरीमा थप सुधार गर्नका लागि भिमफेदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गरेको छ । यसमा घेराबारका वाल लगाउने, पोखरीलाई सधै सुन्दर बनाउने, पौडी खेल्ने काम संगै पर्यटक पनि यस क्षेत्रमा भित्रयाउनेगरी काम भईरहेको अध्यक्ष लामाले बताउनुभयो ।
यस पोखरीमा एक पटकमा एक सय जनाले पौडी खेल्न मिल्छ । गर्मी बढ्दै गएकाले यहाँ पौडी खेल्न आउनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ । अहिले पौडी खेल्नका लागि पालो नपाएर हैरान पनि उत्तिकै हुने गरेको छ । पौडी खेल्न दिएर रमाउने मात्र नभईकन यसबाट गाउँपालिकाको राम्रो आमदानीको श्रोत समेत भएको छ । पौडी खेलाएरनै गाउँपालिकाले बार्षिक ४ लाख ५० हजार रुपैयाँ आमदानी गर्ने गरेको अध्यक्ष लामा बताउनुहुन्छ ।
ठेक्का मार्फत पौडी खेलेको रकम संकलन गरिदै आएको छ । फराकिलो, सुन्दर र कृतिम पोखरी भएकाले सबैको आकर्षणका कारण अन्यक्षेत्रबाट समेत पौडी खेल्न आउने गरेका हुन् । किर्तिपुर फर्पिङबाट करिब २५ किलोमिटर तथा भीमफेदी बजारबाट १६ किलो मिटर टाढा रहेको उक्त पौडी पोखरीमा हरेक शनिबार काठमाण्डौ, हेटौँडा तथा इन्द्रसरोबर गाउँपालिका , मकवानपुरगढी गाउँपालिकासहित नजिककाक अन्य स्थानहरुबाट समेत पिकनिक तथा पौडी खेल्नका लागि मानिसहरुको भिड लाग्ने गरेको छ । पोखरी खण्ड–खण्ड गरी हाल चार वटा पोखरीका रुपमा रहेको छ । ५ रोपनी क्षेत्रफल ओगटेको पोखरीलाई हरियाली जंगललाई समेत समेटेर पिकनिक स्थल तथा मनोरम बाटिका बनाउने योजना रहेको अध्यक्ष लामाले बताउनुभयो ।