तीनै तहका सरकारमा बिचौलियाका कारण अनियमितता –प्रमुख आयुक्त घिमिरे

हेटौंडा । अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले तीनै तहका सरकारमा बिचौलिया रहेको बताउनुभएको छ । संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा बिचौलियाका कारण अनियमितता हुने गरेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयको आयोजनामा कार्यालय प्रमुखहरु संग भएको छलफल कार्यक्रमलाई संबोधन गर्दै उहाँले हरेक क्षेत्रमा बिचौलीया चुनौती पुर्ण बन्दै गएको बताउनुभयो ।
स्थानीय स्तरका लोकल बिचौलिया स्थानीय प्रशासनलेनै तह लगाउन सक्ने उहाँले बताउनुभयो । आफु प्रमुख जिल्ला अधिकारी समेत भएर काम गरेको अनुभव सुनाउँदै उहाँले प्रहरी लगाएर स्थानीय स्तरका बिचौलिया प्रशासनले तह लगाउन सक्ने बताउनुभयो ।
सरकारले गरेका एक हजार ८ सय ४८ वटा रुग्ण प्रकृतिका ठेक्काको काम हेर्दा ठुलो अनियमितता भएको पाइएको बताउनुभयो । यी योजनामा ४७ वटा योजनाको अनियमितताका बिषयमा बिस्तृत अनुसंधान गरिरहेको घिमिरेले बताउनुभयो । निर्माण क्षेत्रमा अझै पनि कार्टेलिङ रहेको उहाँको भनाई छ ।
जग्गा सम्बन्धि अनियमिततामा बिस्तृत अनुसंधान
सरकारी जग्गा सम्बन्धि अनियमिततामा अख्तियारले बिस्तृत अनुसंधान गरिरहेको अख्तियारका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले बताउनुभएको छ । अनियमितता कार्यालय प्रमुखहरुले हेर्नका लागि पनि उहाँले निर्देशन दिनुभएको छ । अहिले अख्तियारले एक सय ४० जनाको सम्पत्तिमा छानविन गरिरहेको उहाँले बताउनुभयो । केहीलाई अनुसंधान गरेर मुद्धा चलाउने तयारीमा रहेको उहाँको भनाई छ । कानुन र प्रकृयागत कुराहरुमा सचेत भएर काम गर्नका लागि उहाँले प्रदेश ३ सरकारका कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिनुभएको छ ।
स्थानीय तहका भ्रष्टनातेदार उपभोक्ता समिति
स्थानीय तहका सरकारमा सबै भन्दा धेरै भ्रष्टाचार बढेर गएको घिमिरेले बताउनुभएको छ । स्थानीय तहको भ्रष्टाचार निकै डरलाग्दो समेत भएको उहाँको भनाई छ । नातेदार र नजिकका ब्यक्तिलाई स्थानीय तहले उपभोक्ता समिति बनाएर भ्रष्टाचार गरेको बताउनुभयो । उपभोक्ता समितिले काम लिने अनि उसले ठेक्का लगाउने प्रबृति गलत भएको बताउनुभयो ।
आउँदो आर्थिक बर्षको साउन महिनाबाट उपभोक्ता समितिले ठेककामा काम दिने प्रथा रोक्न लागिएको उहाँले बताउनुभयो । स्थानीय तहमा भएका भ्रष्टचार हेर्नका लागि चुनौती पनि भएको बताउनुभयो । स्थानीय सरकारले सधै कानुन निर्माणको चरणमा छौ संक्रमण कालमा छौ भनेर छुट नपाउने बताउनुभयो ।
भ्रष्टाचारमा पनि चरम रुप लिएको बताउँदै उहाँले भन्नुभयो–संघिय सरकारले पठाएको रकम कार्यालय प्रमुख र लेखापालका खातामा जम्मा गर्ने गरेको समेत पाइएको छ ।’ आयोगका सचिब महेश्वर न्यौपानेले सबै भन्दा बडी उजुरी स्थानीय तहका परेको बताउनुभयो ।
स्थानीय तहमा भएका नराम्रा काम जिल्ला समन्वय समिति र प्रदेश सरकारले हेर्नुपर्ने बताउनुभयो । स्थानीय तहलाई कसले हेर्न भन्ने समस्या पनि रहेको बताउँदे उहाँले भन्नुभयो–एउटा स्थानीय तहमा भएका नराम्रा गतिबिधि हेर्नु भनेर जिल्ला समन्वय समितिलाई चिठ्ठी लेख्दा हामी संग हर्ने कर्मचारी, साधन श्रोत नभएको भनेर जवाफ आएको छ ।’
खोला दोहन र क्रसरसंग जोडिएका अनियमितता
चुरेका खोला दोहनका कारण तराईका जिल्लामा मरुभुमि बन्ने खतरा बढेको प्रमुख आयुक्त घिमिरेले बताउनुभएको छ । अहिलेको अबस्थामा खोला देख्नै नहुने र उत्खनन् गरिहाल्ने अवस्थाले थप समस्या पारेको उहाँले बताउनुभयो । क्रसर उद्योगका लागि उर्बरभूमिका रुपमा मकवानपुर पनि रहेको उहाँले बताउनुभयो । आफु बिभीन्न मन्त्रालयको सचिब हुँदा समेत क्रसरका बिषयमा कुरा भएको तर, काम हुन नदिइएको बताउनुभयो । खोला दोहनकै कारण भोलिका पुस्ताले सराप्ने अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ३ का सरकारका प्रमुख सचिब आनन्दराज ढकालले क्रसर उद्योग र खोला उत्खनन् निकै डरलाग्दो रुपमा अगाडी बढेको बताउनुभयो । यसको नियमन गर्ने संघिय सरकारले होकी प्रदेश सरकारले भन्ने कुरा अझै समस्या भएको बताउनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि क्रसर उद्योग र खोला उत्खनन् हेटौंडा र मनहरीमा अत्यधिक भएको बताउनुभयो । आयोगको हेटौंडा कार्यालयका प्रमुख हुमकला पाण्डेले आफ्नो कार्यालयबाट भएका गतिबिधिहरुको बिषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रदेश सरकारका सचिबहरु, मकवानपुरका बिभीन्न कार्यालयका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले छलफलका क्रममा गर्नुभएको बिस्तृत संबोधन तलको लिङ्कमा गएर सुन्न सकिने छ ।