मकवानपुरका एक दम्पती सहित तीन पक्राउ
![](https://www.janapatra.com/wp-content/uploads/2021/07/Abaidh-Lagu-Ausadh-Pakrau.jpg)
हेटौंडा – मानिस भुण्डिएर(पासो) आत्महत्या गरेको डोरी महंगोमा विक्री हुन्छ भन्दै अन्धविश्वास फैलाएर महिलाको हत्या गर्ने मकवानपुरका एक दम्पती सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यही भदौ २५ गते विहान साढे ६ बजेको समयमा ललितपुर महानगरपालिका–२७ सुनकोठीमा नुवाकोट बेलकोट गढी नगरपालिका वडा नं.९ बस्ने ४५ वर्षीया कमला तामाङको डोरीले घाँटीमा कँसी हत्या गरेका थिए ।
हत्या आरोपमा पक्राउ पर्नेमा मकवानपुर, राक्सिराङ गाउँपालिका– ५, प्याङचे टोल घर भएका २३ वर्षीय सविन प्रजा, मोरङ, पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारे घर भएका २० वर्षीय सुमन मगर र मकवानपुरको राक्सिराङ गाउँपालिका–५, प्याङचे टोल घर भएका १८ वर्षीया प्रविना प्रजा माझी रहेका छन् । ललितपुर महानगरपालिका–२८ हरीसिद्धि बस्दै आएका उनीहरु तीनै जनालाई विभिन्न मितिमा पक्राउ गरीएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महानगरीय प्रहरी वृत चापागाउँ,ललितपुर तथा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले अनुसन्धानको क्रममा मगरलाई ललितपुर महानगरपालिका–२८ हरिसिद्धिबाट अजोस २१ गते पक्राउ गरिएको थियो । मगरको वयानका आधारमा घटनामा संलग्न मकवानपुरका सबिन प्रजा र उनकी श्रीमती वर्ष १८ की प्रविना प्रजा माझी मनहरी गाउँपालिका–७ बाट असोज २२ गते पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
मानिस पासो लागेर मरेको डोरीबाट रकम आर्जन गर्ने उद्देश्यले तामाङको हत्या भएको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अनुसन्धानका क्रममा घटनामा संलग्न सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौं रुपैंयामा बिक्रि हुने बताएको थिए ।
सुमन मगरले रक्सी सेवन गरी टहरामा एक्लै बस्दै आएकी कमला तामाङको सुत्ने क्रममा हात बाँधेर घाँटीमा डोरीले कसेर उनको हत्या गरेका थिए । प्रहरीका अनुसार मगर तामाङबिच पहिले देखीनै अवैध सम्बन्ध हुने गरेको थियो । हत्या पश्चात मृतकको कानमा लगाएको गहना र मोबाइल समेत लुटेर फरार रहेकोका तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्यको लागी महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाईएको महाशाखाले जनाएको छ ।