तत्काल रिलिज हुने फिल्मलाई बोर्डले ७ लाख बराबरको सहयोग गर्ने
कोरोना महामारीका कारण महिनौंदेखि बन्द रहेका सिनेमा हल असोज २१ गते ९घटस्थापना० बाट खुल्दैछन् । काठमाडौंसहितका जिल्ला प्रशासन कार्यालयले गत महिना नै स्वास्थ्य सुरक्षा अपनाएर सिनेमा हल सञ्चालन गर्न अनुमति दिए पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा हल खुल्न सकेका थिएनन् । घटस्थापनाबाट हलिउड फिल्म प्रदर्शन गरेर सिनेमा हल खुल्ने तयारी गरिएको छ ।
नेपाल चलचित्र संघले घटस्थापनाबाट हल खोल्ने निर्णय गरेपछि मंगलवार चलचित्र विकास बोर्डले पत्रकार सम्मेलनको आयोजना गर्दै तत्काल रिलिज हुने फिल्मलाई राहत प्याकेजको घोषणा गरेको छ । बोर्डले हल खुलेको तीन महिनाको अवधिभित्र रिलिज हुने फिल्मलाई सर्भर इनकोडिङ, पब्लिसिटी, प्रचार सामाग्री छपाई लगायतको शिर्षकमा ७ लाख बराबरको सहयोग गर्न लागेको हो ।
कार्यक्रममा बोर्ड अध्यक्ष दयाराम दाहालले भने( ‘तत्काल रिलिज हुने नेपाली फिल्ममा हामीले जति पनि सहयोग गर्न लागेको छौं त्यो बोर्डको आन्तरिक स्रोतबाट हो । विदेशी फिल्म प्रदर्शनवापत प्राप्त हुने शुल्कले बोर्ड चल्ने गर्छ । जुन २० महिनादेखि शुन्य अवस्थामा छ । यसका वावजूद पनि फिल्म क्षेत्रलाई चलायमान बनाउन बोर्डले आन्तरिक स्रोतबाट सक्ने सहयोग गर्दै आएको छ ।’
निर्माणमा जाने फिल्ममा सहयोग गर्न पनि बोर्डले सूचना तथा सञ्चार मन्त्रालयसँग माग गरेको र यो मागलाई मन्त्रालयको योजना शाखाले राहत प्याकेज शिर्षकमा राखेर अर्थ मन्त्रालय पठाएको अध्यक्ष दाहालले जानकारी दिए । प्रोजेक्ट लोनको विषयमा पनि कुरा अगाडि बढेको बताउँदै उनले छायांकनमा जाने फिल्मलाई बोर्डले डेढ लाखसम्मको ‘प्रोजेक्ट विमा’ उपलब्ध गराएको बताए ।
गठबन्धन सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको ‘राहत प्याकेज’ अन्तर्गत कोरोनाका कारण फिल्म क्षेत्रमा भएको क्षतिको वितरण माग भएकाले यसबाट केही माग सम्बोधन हुनेमा उनको विश्वास छ । ठूला फिल्मको लगानी सुरक्षित गरेर प्रदर्शन गर्ने विषयमा पनि बोर्ड गम्भीर रहेको बताउँदै दाहालले फिल्म क्षेत्रलाई चलायमान बनाउन सबै एकजुट हुन आग्रह गरेका छन् । फिल्मीखबरबाट







