फिल्ममा फर्किने तयारीमा राजबल्लभ

जनपत्र
१७ आश्विन २०७८, आईतवार ०७:५७

आरजे हुँदै फिल्मसम्मको यात्रा तय गरेका राजबल्लभ कोइराला एक समय लभस्टोरी फिल्ममा राम्रो माग भएका अभिनेतामा पर्थे । डेब्यू फिल्म ‘पर्खि बसेँ’ नै सुपरहिट भएपछि उनले आफ्नो करिअर फर्केर हेर्नु परेन । उनको आगमन त्यसबेला भएको थियो जतिबेला फिल्म क्षेत्रमा चकलेटी नायकको खडेरी थियो । उनको प्रवेशपछि नेपालमा लभस्टोरी फिल्म बन्ने क्रम ह्वात्तै बढेको थियो ।

उनले आफ्नो करिअरको दौरानमा ‘छोडी गए पाप लाग्ला’, ‘गुरु दक्षिणा’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘प्रितिको फुल’, ‘मसान’, ‘ऋतु’ लगायतका तीस बढी नेपाली फिल्मका साथै हलिउड फिल्म ‘हाईवे टु धम्पुस’ मा समेत अभिनय गरेका छन् । यही हलिउड फिल्मको सुटिङका लागि भन्दै करीब ८ वर्षअघि अमेरिका हानिएका उनी यसपछि अभिनयमा फर्किएका छैनन् ।

अमेरिका बसाई क्रममा उनलाई फिल्मबाट अफरै नआएको भने होइन । तर, आजसम्म उनलाई फिल्ममा फर्किने संयोग जुरेको छैन । हालै उनलाई एक नयाँ फिल्मबाट अफर आएको छ । उनलाई फिल्मको स्टोरीदेखि आफ्नो भूमिका चित्त बुझेको छ । यो फिल्मबाट उनले अभिनयमा कमब्याक गर्ने सम्भावना प्रवल छ । उनी आफैं पनि फिल्ममा फर्किनका लागि निकै आतुर छन् ।
फिल्ममा कमब्याक गर्न ढिलाइ भए पनि राजबल्लभले म्यूजिक भिडियोबाट अभिनयमा पुनगरागमन गरेका छन् । गायक ओम बिक्रम बिष्टको स्वर तथा संगीतमा रहेको ‘उनी आउने’ बोलको गीतको भिडियोमा उनको अभिनय छ । भिडियोमा उनको जोडी संजिता कोइरालासँग बाँधिएको छ । म्याक्स टिभि नेपालले निर्माण गरेको गीतमा विजय शिवाकोटीको शब्द रचना रहेको छ ।

भिडियोलाई नवराज आचार्यले निर्देशन गरेका हुन् । अमेरिकामा नै सम्पूर्ण छायांकन गरिएको भिडियोका निर्देशक आचार्यले एक दशक अगाडि ‘कलिउड’ नामक नेपाली फिल्मको पनि निर्देशन गरेका थिए । भरत रेग्मीको सम्पादन तथा कलर ग्रेडिङ रहेको गीतको भिडियोका छायांकार शम्भु मोक्तान हुन् । विजय शिवाकोटीद्वारा लिखित ‘मोडहरुमा’ एल्बममा यो गीत समावेश छ ।
राजबल्लभले अमेरिका बसाईको क्रममा तीनवटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले तीन बर्ष अगाडि अम्बिका गुरुङ र रामकृष्ण ढकालको आवाजमा रहेको गीतमा अमेरिकाबाटै अभिनय गरेका थिए । फिल्ममा सक्रिय रहँदा उनले त्यतिबेलाका चर्चित निर्देशकहरु भुषण दाहाल, आलोक नेम्वाङ, प्रसन्न पौडेल लगायतसँग केही सफल म्युजिक भिडियोमा काम गरेका थिए ।

‘पहिले फिल्मको व्यस्तताले धेरै म्युजिक भिडियो गर्न सकिएन। पहिले फिल्मभन्दा माथी म्युजिक भिडियोलाई हेरिदैन थियो, अहिले अवस्था फरक भइसकेको छ । म्युजिक भिडियोलाई पनि उस्तै महत्व दिने गरिन्छ’, उनले भने( ‘मैले चाहेर मात्र यहाँ अभिनय गर्न सक्दिनँ । यहाँ कम भिडियोहरु तथा फिल्महरु बन्ने गर्छन् । मैले चाहेर मात्र नभएता पनि म काम गर्नको लागि तयार चाहिँ छु ।’ फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*