सौगातको ‘राधा’ मा सृष्टिको यस्तो लुक्स
प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘राधा स् द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्देशक तथा निर्माता सुर्वण थापाले आइतवार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको फर्स्टलुकमा सृष्टि मात्र फिचर छिन् । आधा टाउको ढाक्ने गरी लामो पछ्यौरी लगाएकी उनी पोस्टरमा निकै गम्भीर र चिन्तित मुद्रामा देखिएकी छन् ।
दोस्रो लकडाउनअघि पालुङ आसपासमा छायांकन भएको फिल्ममा सौगात र सृष्टिका अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । फिल्ममा दयाहाङ राई र निश्चल बस्नेतलाई पनि विशेष भूमिकामा देख्न पाइने निर्माण टिमको जनाएको छ । यो फिल्मलाई निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन् ।
आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत छ । सृष्टिले ‘राधा’ को चरित्र निर्वाह गर्नु आफ्नो लागि निकै विशेष रहेको बताएकी छन् । उनले यसअघि ‘माइकल अधिकारी, पोइ पर्यो काले, मासु भात’ लगायतका फिल्ममा सौगातसँग एकसाथ काम गरिसकेकी छन् । फिल्मीखबरबाट







