५ वर्षपछि फिल्ममा फर्किए दिक्पाल

जनपत्र
५ आश्विन २०७८, मंगलवार ०६:४३

पुराना निर्देशक शम्भु प्रधान निर्देशित फिल्म ‘रंग बैजनी’ बाट नायकको रुपमा डेब्यू गरेका दिक्पाल कार्कीले सन् २०१६ मा दोस्रो फिल्मको रुपमा ‘च्याम्पियन’ मा काम गरे । तर, दुवै फिल्मले असफलता भोगेपछि मोडलिङ र म्यूजिक भिडियोमा व्यस्त रहेका उनी ६ वर्षपछि फिल्ममा फर्किएका छन् । आइतवारबाट छायांकन सुरु भएको फिल्म ‘अञ्जली’ मा उनको प्रवेश भएको हो ।

दिक्पालले फेसबुकमार्फत फिल्ममा आफू आबद्ध भएको जानकारी दिँदै लेखेका छन्, ‘धेरै बर्षपछि ठूलो पर्दामा सानो तर विशेष भूमिकामा काम गर्दैछु । फिल्ममा म एउटा गीत र छोटो मिठो भूमिकामा मात्र देखिनेछु । अलिक फरक र राम्रो काम गर्न खोज्ने टिमसँग आबद्ध हुन पाउँदा खुशी लागेको छ ।’ फिल्ममा आफ्नो भूमिका सानो भए पनि दर्शकलाई निराश नबनाउने उनले बताए ।

दिनेश लिङ्देनको निर्देशन रहेको ‘अञ्जली’ हत्याहिंसा र अपहरणको कथामाथि आधारित भएर निर्माण हुन लागेको हो । फिल्ममा दिक्पालका अलावा एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो लगायतका कलाकारहरुको अभिनय देख्न पाइनेछ ।

गत वर्ष नेपाली फिल्म क्षेत्रमा नेपोटिज्म र ग्रुपिज्मको बहस चर्किएको समयमा दिक्पालले यही कारणले गर्दा आफू दुई फिल्मपछि मोडलिङमा फर्किएको बताएका थिए । अब फिल्ममा फर्किने सम्भावना न्यून रहेको उनको भनाई थियो । तर, दर्शकको आग्रहका कारण आफू फिल्म फर्किएको र अब निरन्तरता दिने सोचमा रहेको उनले बताएका छन् । उनको हातमा अर्को फिल्म पनि छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*