आफ्नै लगानीमा काठमाडौंमा ‘स्काइ’ रेल कुदाउने चीनको इच्छा !

काठमाडौं – चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले काठमाडौं उपत्यकामा आफ्नै लगानीमा स्काइ रेल कुदाउने प्रस्ताव गरेको छ । कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी आशय पत्र लेखी प्रस्ताव लगानी बोर्डमा पेस गरेको छ ।
लगानी बोर्डको अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उसले काठमाडौंमा ‘स्काइ’ रेल चलाउन इच्छा देखाएको छ ।
सीसीएआरले सुरुमा पहिलो चरणअन्तर्गत २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । ‘लगानी बोर्डका अध्यक्षसमेत भएका कारणले होला प्रधानमन्त्रीलाई सम्बेधन गरेर प्रस्ताव प्राप्त भएको छ,’ सीसीएआरको पत्र देखाउँदै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘हामीले प्रस्ताव पत्र लगानी बोर्डमा फरवार्ड गरिसकेका छौं, यस विषयमा अध्ययन भइरहेको होला ।’
चिनियाँ कम्पनी सीसीएआरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ र चीनका लागि नेपाल राजदूत लीलामणि पौडेलसँग भएको छलफलका आधारमा काठमाडौंमा स्काइ रेलको सम्भावनाबारे अध्ययन गरेको कम्पनीले जनाएको छ ।
उसको दाबी छ, ‘काठमाडौंको बढ्दो सवारी जाम व्यवस्थापन गर्न स्काइ रेल उपयोगी हुनेछ ।’
उसले पहिलो चरणमा चक्रपथभित्र चलाउने र दोस्रो तथा तेस्रो चरणमा चक्रपथबाहिर विस्तार गर्न सकिने बताएको छ । सीसीएआरका अनुसार काठमाडौंको चक्रपथमा ५ हजार यात्रुसम्म बोक्न सक्ने स्काइ रेल चलाउन सकिनेछ ।
चक्रपथभित्रै १४ किलोमिटर स्काइ रेल चलाउन सकिने भन्दै कम्पनीले रुट प्रस्ताव गरेको छ । एयरपोर्ट–तिनकुने–बानेश्वर–माइतीघर–त्रिपुरेश्वर हुँदै नारायणगोपाल चोक र त्यहाँबाट बूढानीलकण्ठसम्म हुनेछ । पहिलो चरणमा एयरपोर्टबाट सुरु भएर अन्तिम स्टेसन बूढानीलकण्ठसम्म हुनेछ । काठमाडौं चक्रपथभित्र र बाहिर गरी १ सय ४६ किमि दूरीमा स्काइ रेल चलाउन सकिने कम्पनीको प्रस्ताव छ भने उपत्यकाभित्र ४९ वटा स्टेशन रहने कम्पनीले जनाएको छ । उपत्यकाका तीनवटै जिल्लामा गरी ठाउँठाउँमा १ देखि २ किमि दूरीको फरकमा स्टेसन राख्न सकिने कम्पनीको प्रस्ताव छ ।
दोस्रो र तेस्रो चरणमा भने काठमाडौं र धादिङको सिमाना थानकोटसम्म र काठाडौं–भक्तपुर खण्डमा समेत स्काइ रेल चलाउन सकिने चिनियाँ कम्पनीको भनाइ छ ।
सीसीएआरको दाबी छ कि मोनो तथा मेट्रो रेलको तुलनामा स्काइ रेल सस्तो हुनेछ ।
स्काइ रेलले अन्य रेलहरुको जस्तो धेरै ठाउँ लिँदैन । सडककै किनारामा वा सडककै बीच भागमा ठाउँ–ठाउँमा पोल गाडेर स्काइ रेल चलाउन सकिनेछ । माथि रेल गुड्ने र तल सवारीसाधनहरु निर्बाध रुपमा गुड्न सक्ने भएका कारण सहरमा जामको समस्या समाधान हुने कम्पनीले बताएको छ ।
२ वर्षमा निर्माण सक्ने
सीसीएआरले आफ्नै लगानीमा २ वर्षभित्र चक्रपथमा स्काइ रेल निर्माण गर्ने दाबी गरेको छ । यसरी निर्माण भएको रेल २८ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उसको प्रस्ताव छ । लगानीका लागि चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनबाट आफू प्रभावित भएको कम्पनीको दाबी छ ।
यद्यपि, यो आयोजना लगानी सम्मेलनमा राखिएकै थिएन । सोकेसमा नराखेका आयोजनामा पनि वैदेशिक लगानी भित्र्याउन चाहनेहरुले प्रस्ताव गर्न सक्नेछ ।
आजको अर्थबाट