प्रदेश नम्बर ३ र चीनको गान्सु प्रान्तबीच भगिनी सम्बन्ध स्थापना

जनपत्र
३१ बैशाख २०७६, मंगलवार ०६:०५

हेटौंडा, नेपालको छिमेकी मुलुक चीनको गान्सु प्रान्त संग नेपालको ३ नम्बर प्रदेशबीच भगिनी सम्बन्ध स्थापना भएको छ । चीनको उत्तरपश्चिम भेगमा रहेको गान्सु र नेपालको मध्य भागमा रहेको ३ नम्बर प्रदेशबीच गाँसिएको भगिनी सम्बन्धलाई महत्वपूर्णरुपमा हेरिएको छ । सोमबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियाङबीच काठमाडौमा हस्ताक्षर भएको हो । ताङको नेतृत्वमा लान्झाउ नगरका उपमेयरसहित करिब दुई दर्जन चिनियाँ अधिकारी आइतबार काठमाडौं आएका थिए ।
कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । यसले दुई देशको सहयोग आदान प्रदानमा झनै महत्व राख्ने उहाँको भनाइ छ । मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘ हामी चीनको अभूतपूर्व आर्थिक विकासबाट धेरै प्रभावित छौं । नजिकको छिमेकी, असल साथी र सक्रिय सदस्यको रूपमा नेपालले चीन र चीनको विकाससंगै विशेष गरी गान्सुसंग बिषेश सहकार्य गर्न चाहन्छ ।’
बर्तमान सन्दर्भमा नेपालमा अभूतपूर्व परिवर्तन आएको जानकारी दिंदै थप विकासका लागि यो सम्बन्ध थप लाभदायक हुने भनाई व्यक्त गर्नुभयो । यो सम्बन्ध नेपाल र चीनबीचको विकास अनुभवको माध्यमबाट ऐतिहासिक सम्बन्धलाई बढावा दिन एक महत्वपूर्ण क्षेत्र हुन सक्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । अहिलेको सरकारलाई जनताले बिश्वास गरेर दुई तिहाईको मत दिएको जनादेशको  स्मरण गर्दै विकासको गति अगाडि बढाउन यो हस्ताक्षर फलदायी हुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*