भर्चुअल रूपमा हुँदै नेपाल युरोपियन फिल्म फेस्टिबल

जनपत्र
२५ भाद्र २०७८, शुक्रबार ०६:३२

विगतमा सिनेमा हलमा आयोजना हुँदै आएको ‘नेपाल–युरोपियन फिल्म फेस्टिभल–२०२१’ (नियुफ) यसपटक भर्चुअलमार्फत हुने भएको छ । यो महोत्सव १ असोजदेखि ९ असोजसम्म हुने आयोजक पक्षले जनाएको छ ।

यो महोत्सवको १०औं संस्करण आयोजना हुन लागेको हो । महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्म प्रदर्शन गरिने भएको छ । सो महोत्सवको तयारी भइरहेको पनि आयोजक पक्षले जनाएको छ ।

आयोजकका अनुसार महोत्सवमा पहिलोपटक नेपाली चलचित्रलाई पनि सहभागी गराइएको छ । यसपटक नेपाली चलचित्रअन्तर्गत महोत्सवमा विनोद पौडेल निर्देशित ‘बुलबुल’, धोन्डुप छिरिङ निर्देशित ‘आमा खान्डा’ र सर्जियो बास्सो निर्देशित ‘सरिता’ प्रदर्शन गरिने भएको छ ।

नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले यो महोत्सब आयोजना गर्दै आएको छ । नेपालका लागि युरोपियन युनियनको डेलिगेसनका कार्यवाहक राजदूत स्टेफेन माइकनले महोत्सवलाई भर्चुअल रूपमै आयोजना गर्नुको कारणबारे भने, ‘महामारीले गर्दा लामो समयदेखि सांस्कृतिक गतिविधि ठप्प छ ।

यस्तो स्थितिमा पनि हामी नेपाल र युरोपियन युनियनबीचको सांस्कृतिक आदानप्रदान तथा फ्यूजनको प्रवद्र्धनका लागि केही उत्कृष्ट नेपाली तथा युरोपेली फिल्म अनलाइन ९भर्चुअल०को माध्यमबाट प्रदर्शन गर्दैछौं ।’ योसँगै महोत्सवमा २३ वटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित फिल्म पनि समावेश छन् । फिल्म छनोटबारे उनले भने, ‘हामीले यो महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली फिल्म समावेश गरेका छौं । तीमध्येबाट दुईवटा चलचित्रलाई नेपाली भाषामा सबटाइटल गरेर प्रदर्शन गर्दै छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*