किसानलाई मक्ख पार्दै मकवानपुरका स्थानीय सरकार,सुत्केरी गाईभैँसीलाई एक–एक लाख बजेट

हेटौंडा / मकवानपुरका दुई स्थानीय तहले किसानलाई मक्ख पार्न सुत्केरी गाईभैँसीलाई पोषण योजना ल्याएका छन् । मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाले किसानको हितलाई ध्यानमा राखेर सुत्केरी गाईभैँसीका लागि निःशुल्क पोषण वितरण योजना कार्यान्वयनमा ल्याएका हुन् ।
दुवै स्थानीय तहले एकैकिसिमको कार्यक्रम स्वीकृत गरेर कार्यान्वयनमा ल्याएका हुन् । दुवै स्थानीय तहले वडाको सिफारिस र निवेदनको आधारमा पोषण रकम दिने प्रावधान तय गरेका छन् । सुत्केरी गाईभैँसीलाई पोषणका रूपमा एकपटकका लागि एक हजारका दरले क्याल्सियम, लिल्टोनिक र मिनरल मिक्चर दिने भीमफेदी गाउँपालिका नायब पशुसेवा प्राविधिक नारायणप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार गाउँसभाबाट चालू आव ०७५/०७६ मा एक लाख बजेट छुट्याइएको छ । उनका अनुसार एक लाख बजेट फस्र्योट गरी सयजना किसानलाई एक हजारका दरले पोषण वितरण हुनेछ ।
पशुपालनमा सहयोग पुग्ने विश्वास
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले ग्रामीण क्षेत्रका किसानलाई पशुपालनमा सहयोग पुग्ने उद्देश्यले यस्तो योजना ल्याएको बताए । ‘हामीले किसानलाई केही टेवा पुग्ने गरी योजना ल्याएका हौँ,’ उनले भने, ‘यो योजनाबाट गाईभैँसी सुत्केरी हुँदा रोग लाग्ने र मर्ने समस्या न्यून हुने अपेक्षा गरिएको छ ।’ गाउँपालिका अध्यक्ष लामाले प्रभावकारी भए किसानको मागअनुसार आगामी आर्थिक वर्षबाट पोषणको रकम थप्न सकिनेछ बताए ।
पोषणका लागि निवेदन आह्वान
भीमफेदी गाउँपालिकाले २६ वैशाखमा चालू आव ०७५/०७६ को माघ मसान्तभित्र सुत्केरी भएका गाईभैँसीका लागि १० जेठभित्र कार्यालयमा निवेदन दर्ता गर्न आह्वान गरेको छ । सूचनामा तोकिएको मितिसम्म पर्याप्त निवेदन नआए म्याद थप्ने जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका ९ वडाबाट निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । एक किसानले एउटा गाई वा भैँसी सुत्केरीका लागि मात्र निवेदन दिन पाइने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
भीमफेदी गाउँपालिकाले निवेदन संकलन जारी राखे पनि थाहा नगरपालिकाले पोषण वितरण गरिसकेको छ । थाहाका पशुसेवा प्राविधिक रागवीन्द्र मिश्रका अनुसार नगरपालिकाकले पहिलोमा ५० र दोस्रो चौमासिकमा ५० जना किसानलाई पोषण वितरण गरिसकेको जानकारी दिए ।
आजको नयाँ पत्रिकामा सुदीप शिवाकोटीले लेखेको समाचार हामिले साभार गरेका हौ ।