ट्रेन्डिङमा स्वरुपराजको ‘तिम्रै नगमा’
गायक स्वरुपराज आचार्यको स्वरको ‘तिम्रै नगमा’ शीर्षकको गीतको म्युजिक भिडियो दर्शकले मन पराएका छन् ।गायक आचार्यले आठ वर्षपछि पुनस् रेकर्डिङ गरेर सार्वजनिक गरेको उक्त गीतको म्युजिक भिडियो चार दिनअघि यूट्युबमार्फत सार्वजनिक गरिएको थियो ।
अहिले उक्त भिडियो ट्रेन्डिङको छैठौं स्थानमा छ । दीपक सिलवाल यो गीतका गीतकार तथा संगीतकार हुन् । भिडियोमा अभिनेता आकाश श्रेष्ठका साथमा प्रिन्सी र प्रिज्मा खतिवडा तथा आशिष खड्काले अभिनय गरेका छन् । माइकल चन्दद्वारा निर्देशित यो भिडियोमा विवाहेत्तर सम्बन्ध र त्यसले निम्त्याउने दुर्घटनालाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिनुका साथै भिडियोमा केही कुरालाई रहस्यको रुपमा छाडिएको छ ।
मेल र फिमेल भर्सनमा तयार पारिएको गीतको भिडियोको बाँकी कथा गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियोमा सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। किरण कँडेलको संगीत सयोजन रहेको गीतको भिडियोलाई उत्सब दाहालले छायाँकन गरेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन् ।







