डिजिटल प्लेटफर्मबाट आयो धुमुर्स सुन्तलीको नयाँ फिल्म

जनपत्र
१२ भाद्र २०७८, शनिबार ०६:०२

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जुटेको धुमुर्स सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्नो निर्माण निर्देशनमा नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो’ निर्माण गरे । यो चलचित्रलाई यतिबेला यी दम्पतीले डिजिटल प्लेटफर्मबाट रिलिज गरेका छन् । लगातार पाँच महिनादेखि सिनेमा हल बन्द भएको र अब कहिले खुल्ने भन्ने टुंगो नभएका कारण आफूहरूले यो चलचित्रलाई डिजिटल प्लेटफर्मबाट रिलिज गरेको कुञ्जना घिमिरेले शुक्रबार राजधानीलाई बताइन् ।

‘हामीले यो नयाँ चलचित्रलाई यो हो मुभिज एप्सबाट रिलिज गरेका छौं । हाम्रो चलचित्र म त मर्छु कि क्या हो हेर्नका लागि सुरुमा यो हो मुभीको एप्स डाउनलोड गर्नुपर्छ ।’ कुञ्जनाले भनिन्, ‘त्यसपछि सो एप्समा चलचित्र म त मर्छु कि क्या हो क्लिक गरेर ३ सय २० रुपैयाँ तिरेपछि हाम्रो चलचित्र एक सो मज्जाले हेर्न पाइन्छ ।’ अहिलेको अवस्थामा सिनेमा हल बन्द रहेको र कोरोना संक्रमणका कारण अझै पनि बाहिर हिँड्डुल गर्न गाह्रो भएको बेला घरमै बसेर दर्शकलाई चलचित्र हेर्न सजिलो होस् भनेर यो एप्समार्फत रिलिज गरेको पनि कुञ्जनाले बताइन् ।

नेपाली चलचित्र शुक्रबार नै रिलिज गरिने प्रचलनलाई निरन्तरता दिँदै आफूहरूले यो चलचित्रलाई शुक्रबार रिलिज गरेको धुर्मुस अर्थात् सीताराम कट्टेलले राजधानीसँग भने, ‘कोरोना महामारीको बीच रंगशालाको काम रोकिएको मौकामा हामीले यो चलचित्रको छायांकनसँगै निर्माण गरेका हौं । सिनेमा हल नखुल्दा पनि दर्शकले नेपाली चलचित्र घरमै बसेर हेर्न पाउन भनेर हामीले यसलाई डिजिटल प्लेटफर्मबाट रिलिज गरेका हौं ।’ आफूहरूले आर्थिक रूपमा मुनाफाभन्दा पनि दर्शकलाई अहिलेको अवस्थामा मनोरञ्जन र सन्देश दिनका लागि यो चलचित्र निर्माण गरेर रिलिज गरेको पनि उनले प्रकाश पारे ।

यो चलचित्रलाई सीताराम कट्टेल र कुञ्जना घिमिरेले निर्देशन, निर्माण गरेका हुन् । यसमा यी जोडीको मुख्य भूमिका रहेको छ । मेरी बास्सै टेली चलचित्रबाट एक समय निकै लोकप्रिय भएका यी जोडीले सोही सिरियलको धुर्मुस सुन्तली भूमिका यो चलचित्रमा निर्माण गरेका छन् । यतिबेला ओहो मुभिज एपबाट रिलिज भएको भएको यो चलचित्रमा धुमुर्स सुन्तलीसँगै रवि गिरी, वुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रलाई तराईका विभिन्न स्थानमा छायांकन गरिएको हो । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् । मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रको पटकथा संवाद पनि धुर्मुस सुन्तली स्वयंले तयार पारेका हुन् । डिजिटल प्लेटफर्मबाट रिलिज भएको यो नै पहिलो चलचित्र हैन । गत साता लभ सर्कल चलचित्र पनि डिजिटल प्लेटफर्मबाट रिलिज भएका थियो । यस अघि ‘कोपिला र हिरो रिर्टन्स’जस्ता चलचित्र पनि डिजिटल प्लेटफर्मबाट रिलिज भएका थिए । राजधानीडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*