पारस खड्काले गरे राजनीतिमा आउने संकेत

नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले सही अवसर आए राजनीतिमा आउन सक्ने बताएका छन् । तर, अहिले भने उनले नेपालमा क्रिकेटको विकास नै प्राथमिकतामा दिएको बताएका छन् । क्रिकेटको सही व्यवस्थापनपछि मात्र उनी राजनीतिमा आउन सक्ने बताउँछन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको भोलिपल्ट बुधवार आयोजित पत्रकार सम्मेलनमा खड्काले तत्काल आफू क्रिकेट विकास र प्रवर्धनका लागि व्यवस्थापकीय जिम्मेवारीमा आउने लक्ष्य राखेको बताए । ‘व्यवस्थापकीय जिम्मेवारीमा आउन चुनावमा जानुपर्छ, शून्य समयमा त्यसका लागि अभ्यास गर्नेछु, उनले भनेका छन् ।
खड्काले नीति निर्माण गर्ने गरी क्रिकेट विकासका लागि कार्यान्वयन गर्ने स्थानमा पुग्ने इच्छा व्यक्त गरेका छन् । आफू सन् २०११ मा राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त हुँदादेखि नै व्यवस्थापकीय जिम्मेवारीले क्रिकेटलाई पुर्याउन सक्ने योगदानबारे अवगत भएको अनुभव सुनाए । उक्त अनुभवकै आधारमा आफू व्यवस्थापकीय जिम्मेवारीमा आउन रोजेको खुलाए । पारसले उक्त जिम्मेवारीमा पुग्न क्यानको अधिवेशन कुर्नुपर्ने हुन्छ, जसका लागि दुई वर्षको समय बाँकी छ ।
पदाधिकारीका लागि छनोट हुन राष्ट्रिय टोलीबाट अवकास लिएको कम्तिमा दुई वर्ष समय बिताएको हुनुपर्ने व्यवस्थाकै कारण उनले सन्यास लिएको बुझ्न सकिन्छ । खड्काले नेपालले सन् २०१८ अगष्ट ३ मा अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेट खेल्न आईसीसीबाट मान्यता पाएको दिनकै अवसर पारेर सन्यासको घोषणा गरेका हुन् ।
नेपालमा जिल्ला, प्रदेश र सङ्घ गरी तीन तहमा क्रिकेट सङ्घको विभाजन गरिए झैं क्रिकेट खेल्ने प्रारुप पनि त्यसै बमोजिम अगाडि बढ्नुपर्ने उनको सुझाव छ । क्रिकेट विकासका लागि आफूले अबको तीन चार महिनाभित्रै एकेडेमी सञ्चालन गर्ने तयारी गरेको उनले बताए । एकेडेमी सञ्चालन गरेर खेलाडी उत्पादन गर्ने उनको लक्ष्य छ ।
‘मेरो उमेर ३४ वर्ष मात्रै भए पनि नेपाली क्रिकेटमा मैले लामो समय बिताएको छु, तसर्थ मेरो सन्यास हतारको उद्घोष होइन’ खड्काले स्पष्ट पारेका छन् । कलाकर्मीेबाट