मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

हेटौंडा /शुक्रबार परेको चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएको छ ।
चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका-५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए । घरभित्रै बसिरहेकी सिंहबहादुर पाख्रिनकी श्रीमती फूलमायाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।
त्यसैगरि पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका ३ स्थित लामिटारमा बाख्रा चराउँदै गर्दा स्थानीय ५२ वर्षीय बृन्दा मोक्तान चट्याङ लागेर घाइते भएकी छिन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।