गुरिल्ला म्याराथनमा हिमाल र हुमी च्याम्पियन

जनपत्र
२३ असार २०७८, बुधबार ०७:३५

भूमे गाउँपालिका–६ महतमा आयोजित तेस्रो गुरिल्ला अल्ट्रा ट्रेल म्याराथनमा हिमाल बुढा मगर र हुमी बुढा मगर च्याम्पियन भएका छन्। मंगलबार प्रतिस्पर्धामा महिला २१ र पुरुष १०८ जना गरी जम्मा १२९ जना सहभागी थिए। तत्कालीन नेकपा माओवादी पार्टीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा माओवादीका जनमुक्ति सेनाहरू हिँडेको ठाउँलाई समेटेर म्याराथन प्रतियोगिता आयोजना गरिँदै आइएको छ।

महिलारपुरुष समान दूरीको रुकुमपूर्व भूमे–६ महतबाट सुरु भएको दौड वडा नम्बर २ र ७ हुँदै छिमेकी जिल्ला रोल्पा थबाङको जलजला पुगि पुनः फर्केर महतसम्मको ५२ किलो मिटर दूरीमा दौड गरिएको थियो।

पुरुषतर्फ प्रथम भूमे–२ गाबाङका १८ वर्षीय हिमाल बुढा मगरले निर्धारित दूरी ५ घण्टा ५३ मिनेट २६ सेकेन्डमा पार गरेका थिए। दोस्रो हुने भूमे–६ महतका २१ वर्षीयका कर्माण बुढा मगरले ६ घण्टा १९ मिनेट ३९ सेकेन्ड, तेस्रो हुने रुकुम पश्चिम सानोभेरी गाउँपालिका–३ का २४ वर्षीय अर्जुनकुमार बस्नेतले ६ घण्टा २२ मिनेट ४३ सेकेन्डमा पार गरेका हुन्।

यसैगरी महिलातर्फ प्रथम हुने प्युठानकी २२ वर्षीया हुमी बुढामगरले ८ घण्टा ३२ मिनेट ४७ सेकेन्ड, दोस्रो हुने भूमे–४ की रोजिना बुढा मगरले ८ घण्टा ३७ मिनेट ३४ सेकेन्ड र तेस्रो हुने भूमे–३ की १७ वर्षीया निर्मला पुन मगरले ८ घण्टा ४० मिनेट ३८ सेकेन्डमा ५२ किलो मिटरको दूरी पार गरेका हुन्।

प्रतियोगितामा प्रथम हुने महिला र पुरुषलाई समान ७५ हजार, दोस्रोलाई ५० हजार र तेस्रोलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक भूमे युवा विकास केन्द्रका अध्यक्ष सुनिलकुमार रोका मगरले जानकारी दिए।

भूमे गाउँपालिकाको आर्थिक सहयोगमा भूमे युवा विकास केन्द्रको आयोजनामा भएको तेस्रो गुरिल्ला अल्ट्रा ट्रेल म्याराथनमा रुकुमपूर्व, पश्चिमसँगै रोल्पा, बाग्लुङ, सल्यान,प्युठान, पोखरा, सुर्खेत र सोलुखुम्वुबाट पनि धावकहरूले प्रतिस्पर्धा गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*