युरो कप : ५-३ को अग्रतासहित स्पेन क्वाटरफाइनलमा
युरो कप अन्तिम १६ अन्तर्गत गए राति भएको खेलमा जित हात पार्दै स्पेनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित ९० मिनेट ३-३ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । अतिरिक्त समयमा धकेलिएको खेलमा क्रोएसियामाथि स्पेनले थप २ गोल फर्काउन सफल भयो । ५-३ को नतिजामा सकियो ।
डेनमार्कको कोपेनहेगनमा भएको खेलमा सुरुवाती अग्रता भने क्रोएसियाले लिएको थियो । उसले आत्मघाती गोल उपहार स्वरुप पायो । खेलको २० औँ मिनेटमा पेड्रिले दिएको ब्याक पासलाई स्पेनिस गोलरक्षक उनाई सिमोनले नियन्त्रण गर्न नसक्दा बलले जाली चुमेको थियो ।
३८ औँ मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए । ५७ औँ मिनेटमा सेजर एज्पिलिक्वेटाले गोल गर्दै स्पेनलाई २-१ अग्रता दिलाए । ७२ औँ मिनेटमा अल्भारो मोराटाको गोलले मान्यता नपाउँदा स्पेनले अग्रता बढाउने अवसर गुमायो । भिएआरमा उनी अफ साइड पोजिसनमा देखिएका थिए ।७७ औँ मिनेटमा फेरान टोरेसले स्पेनका लागि तेस्रो गोल गरे । सहज जिततर्फ उन्मुख स्पेन अन्तिम समय तिर २ गोल खाँदै बराबरीमा रोकिएको हो ।
खेलको ८५ औँ मिनेटमा मिस्लाभ ओर्सिचले क्रोएसियाका लागि दोस्रो गोल गरे । उनको प्रहारलाई स्पेनका एज्पिलिक्वेटाले रोके पनि भिएआरमा बलले गोल लाइन पार गरेको देखिएको थियो । थप गरिएको समयमा मारियो पासालिचले गोल गर्दै क्रोएसियालाई ३-३ को बराबरीमा ल्याए । खेलको १०० औँ मिनेटमा अल्भारो मोराटा र १०३ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गरेपछि स्पेनले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो ।






