संकटका बेला मनहरी गाउँपालिकाको उदाहरणिय काम, वडा कार्यालय सारेर कोरोना अस्पताल

जनपत्र
२३ बैशाख २०७८, बिहीबार ०७:००

हेटौंडा । कोरोना भाइरसको महामारीका बेलामा मकवानपुरको मनहरी गाउँपालिकाले उदाहरणिय काम गरेको छ । सबैतिर कोरोनाका बिरामीलाई अस्पताल नपाइरहेको अवस्थामा मनहरीमा भने दुइ दिनमै कोरोना अस्पताल तयार गरेर बिरामीलाई राख्न सुरु गरिएको छ । त्यो पनि वडावासीका काम भइरहेको वडा कार्यालयलाई अन्यत्रै सारेर कोरोना अस्पताल सुरु गरिएको हो । अस्पताल सुरु गरेपछी गाउँपालिकाका वासिन्दाहरु खुसी समेत भएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकाले अक्सिजन सहितको १२ बेडको कोभिड अस्पताल संचालनमा ल्याएको हो । मनहरी–८, सिमपानीमा गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारको लागि अस्पताल संचालनमा ल्याएको हो ।गाउँपालिकामा संक्रमितको संख्या बढेको र स्वास्थ्यमा समस्या भएका संक्रमितको उपचार गर्नको लागि अक्सिजन सहितको कोभिड अस्पताल संचालन ल्याईएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

हाल गाउँपालिकाले १२ बेडको अस्पताल संचालनमा ल्याएको र यसलाई ३० बेड सम्म संचालन गर्न सकिने अध्यक्ष उप्रेतीले बताउनुभयो ।
यसअघिको पहिलो चरणको कोरोना संक्रमणमा हामीले २४ बेडको आइसोलेसन संचालन गरेको र अहिले कोरोनाको अस्पताल सुरु गरिएको वताउनुभयो । १२ बेडको अस्पताल संचालनमा ल्यायौ,१२ बेड खरीदको तयारी भईरहेको छ ।

अस्पतालमा ३० बेडको सम्म संचालन गर्न सक्ने उहाँले वताउनुभयो । अध्यक्ष उप्रेती अनुसार अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि भेन्टिलेटर सहितको तयारी गरिएको छ । भेन्टिलेटरको लागि बागमती प्रदेश सरकारसंग सहकार्य भईरहेको अध्यक्ष उप्रेतीको भनाई छ ।

मनहरी गाउँपालिकामा हालसम्म २ सय ६० जनामा कोरोना पुष्टि भएकामा २ सय ११ जना निको भइसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिए । उनका अनुसार मनहरीमा हालसम कोरोनाको कारण २ जनाको ज्यान गएको छ । मनहरीमा आजको दिनमा ४७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । यसैसरोफेरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईंले मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसंग कुराकानी गर्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*